यी हुन् गएकाे आर्थिक वर्षमा धेरै कमाइ गर्ने सात नेपाली चलचित्र, पहिलो स्थानमा ‘छक्का पञ्जा ४’

 साउन ५, २०८० शुक्रबार १२:४७:४२ | रासस
unn.prixa.net

काठमाण्डाै - चलचित्र विकास बोर्डले गएकाे आर्थिक वर्ष २०७९/८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाइको तथ्याङ्क सार्वजनिक गरेकाे छ । याे तथ्याङ्कअनुसार स्वदेशी ५७ र विदेशी ७८ चलचित्र प्रदर्शन भएका छन् । स्वदेशी ५७ चलचित्र प्रदर्शन भएबापत ७६ करोड ७२ लाख ५७ हजार रुपैयाँको व्यापार भएको छ । 

स्वदेशी चलचित्रतर्फ सर्वाधिक व्यापार गर्न सफल चलचित्रको सूचीमा हेमराज बीसीकाे निर्देशनमा रहेकाे ‘छक्का पञ्जा ४’ पहिलो स्थानमा छ । बोर्डको विवरणअनुसार छ लाख २९ हजार सात सय ५० टिकट बिक्री भएबापत ‘छक्का पञ्जा ४’ ले १७ करोड ५२ लाख ९९ हजार एक सय ५९ रुपैयाँ ग्रस व्यापार गरेकाे छ ।  

हास्यकलाकारको समूहले टेलिशृङ्खलामा पाइरहेको लोकप्रियतालाई ठूलो पर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत् चलचित्र निर्माण शुरु गरेका थिए । त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृङ्खलालाई अगाडि बढाइरहेको छ । 

सर्वाधिक कमाइ गर्ने दोस्रो स्थानमा उपेन्द्र सुब्बाले निर्देशन गरेकाे चलचित्र ‘जारी’ रहेको छ । शनिवार भाेलि प्रदर्शनको सय दिन पूरा गर्ने याे चलचित्रकाे गएकाे असार ३१ सम्म छ लाख १९ हजार दुई सय २१ टिकट बिक्री भएकाे छ । बोर्डको विवरणअनुसार चलचित्रले १७ करोड १७ लाख ९९ हजार १८ रुपैयाँ ग्रस व्यापार भएको छ ।

सर्वाधिक कमाइ गर्ने सूचीको तेस्रो स्थानमा सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेकाे चलचित्र ‘प्रेमगीत ३’ रहेको छ । ‘प्रेम गीत’ को तेस्रो शृङ्खलाका रूपमा ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो । चलचित्रको नेपाली भाषामा दुई लाख ६९ हजार आठ सय आठ टिकट बिक्री भएबापत सात करोड ७० लाख ३५ हजार पाँच सय ५८ रुपैयाँ र हिन्दी भाषामा ८३ हजार एक सय ६९ टिकट बिक्री भएबापत दुई करोड २७ लाख २९ हजार आठ सय ६७ रुपैयाँको ग्रस व्यापार भएको छ ।

चौथो नम्बरमा प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेकाे चलचित्र ‘महापुरुष’ रहेको छ । चलचित्रले दुई लाख ४७ हजार सात सय २८ टिकट बिक्री भएबापत सात करोड ३८ लाख ९१ हजार नौ सय २० रुपैयाँको ग्रस व्यापार गरेको छ । 

पाँचौँ स्थानमा रहेको दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेकाे चलचित्र ‘दुई नम्बरी’ को एक लाख ४१ हजार सात सय १३ टिकट बिक्री भएबापत तीन करोड ८४ लाख ७५ हजार सात सय ७० रुपैयाँको ग्रस व्यापार भएको छ । 

यस्तै छैटौँ स्थानमा रहेको रामबाबु गुरुङले निर्देशन गरेकाे चलचित्र ‘फूलबारी’ को एक लाख २६ हजार पाँच सय ४९ टिकट बिक्री भएकाे छ । चलचित्रले तीन करोड ५३ लाख २० हजार चार सय ७९ रुपैयाँको ग्रस व्यापार गरेकाे छ ।

सार्वजनिक विवरणमा सर्वाधिक व्यापार गर्ने सातौँ स्थानमा रहेको ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गरेकाे चलचित्र ‘झिङ्गेदाउ’ को एक लाख २२ हजार तीन सय २७ टिकट बिक्री भएबापत तीन करोड ४१ लाख १३ हजार दुई सय २३ रुपैयाँ ग्रस व्यापार भएकाे छ । बोर्डले सार्वजनिक गरेको तथ्याङ्कले पनि दर्शकले स्वदेशी चलचित्रतर्फ मौलिक विषयवस्तुलाई रुचाएको प्रस्टिएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया