आजदेखि हलमा ‘लुङा’

 साउन ५, २०८० शुक्रबार १२:२६:१० | रासस
unn.prixa.net

काठमाण्डाै -  लिम्बू संस्कृतिमा बनेको फिल्म 'लुङा' आजदेखि प्रदर्शनमा आएकाे छ । समसामयिक विषयवस्तुमा आधारित चलचित्रलाई निर्देशक किरण राईले निर्देशन गरेका हुन् । 

याे चलचित्रमा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीप जंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायतका कलाकारकाे अभिनय रहेकाे छ । याे चलचित्र सम्पूर्ण वर्गका दर्शकका लागि रहेको निर्देशक राईले जानकारी दिए । 'यसलाई हामीले प्रेम कथानक शैलीमा तयार गरेका छौँ', निर्देशक राईले भने । 

भुवन सिंह राईले लेखेकाे कथालाई प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथाको स्वरूप दिएका हुन् । यसलाई काठमाण्डौमा जीजीए ग्रुप र रिच इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनीले वितरण गरेको छ ।

यस्तै, दोस्रो हप्तामा चलचित्र ‘बगान’ प्रदर्शन भइरहेको छ । पूर्ण पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्रमा एकल आमाको कथालाई देखाइएको निर्देशक सरोज खनालले जानकारी दिए । अभिनेताका रुपमा तीन दशकभन्दा लामो समय बिताइसकेका खनाल यही चलचित्रमार्फत् निर्देशक बनेका हुन् । 

'एकल आमाले परिवारका सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने यसमा देखाएका छौँ, यसमा समस्यामात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ, त्यसैले स–परिवारले हेर्दा आफूलाई महसुस गर्नेछन्', निर्देशक खनालले भने । 

चलचित्रमा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्। यसलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका हुन् । 

स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डीसीएनले काठमाण्डौ उपत्यका तथा मोफसलमा एफडी कम्पनीले गरेको छ । दोस्रो हप्तामा दर्शक बढ्ने विश्वास वितरक करण श्रेष्ठले व्यक्त गरेका छन् ।

उनले भने 'पहिलो हप्ता चलचित्र हेरेका दर्शकले दिएकाे प्रतिक्रियाले चलचित्र भवनमा भीड देखिनेमा विश्वस्त छौँ । यसको  सङ्ख्या पहिलो हप्ताझैँ कायम छ ।'

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया