अन्नपूर्ण हिमालको आधारशिविरमा पञ्चकुण्ड तालको सुन्दरता (फोटोफिचर)

 साउन ६, २०८० शनिबार १३:२९:५५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – चारकाेशे जङ्गलको सफारी हाेस् या हिमाली क्षेत्रको पदयात्रा । यस्तै तालमा डुङ्गा सयर हाेस् या पर्वत आरोहण । तराईंदेखि हिमालसम्म फैलिएकाे छ नेपालकाे पर्यटनकाे क्षेत्र । यहाँ धार्मिक, ऐतिहासिक साथै पर्यावरणीय पर्यटकीय क्षेत्रहरु अथाह छन् । तर यसरी पर्यटकीय आकर्षणको प्रचुर सम्भावना बोकेका क्षेत्रहरु प्रचारप्रसार तथा पूर्वाधारको अभावले ओझेलमा परेका छन् ।

तीनैमध्ये एक हो अन्नपूर्ण हिमालकाे आधार शिविर र त्यहाँ रहेकाे पञ्चकुण्ड । नेपालकै पहिले आराेहण अनुमति पाएकाे हिमाल भनेर अन्नपूर्ण हिमालकाे जुन ख्याति छ, त्याे ख्यातिकाे मुनि ओझेलमा परेकाे छ, त्यहाँकाे बेस क्याम्प र पञ्चकुण्ड । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पर्छ अन्नपूर्ण हिमाल । अन्नपूर्ण हिमालय क्षेत्र आफैमा निकै सुन्दर, मनमोहक र आकर्षक त छदैछ साथै अन्नपूर्ण आधारशिविरमा पुग्दा स्वर्गको अनुभूति गर्न पाइन्छ । वरिपरीबाट सुन्दर हिमालय पर्वतले घेरिएको अन्नपूर्णको आधारशिविरमा नीलो रङको ताल छ । चार हजार ५० मिटरको उचाइमा रहेको यो ताललाई स्थानीयले पञ्चकुण्ड नाम राखिदिएका छन् ।

धार्मिक तथा पर्यटकीय महत्व रहेको पञ्चकुण्ड तालको लम्बाई झण्डै एक किलोमिटर र चौडाइ दुईसय मिटर रहेको अनुमान गरिएको छ । तालमा अन्नपूर्ण हिमालको प्रतिबिम्ब देखिन्छ । तालदेखि एक सय ४० मिटरको उचाइमा अन्नपूर्ण आधारशिविर पर्दछ । तालबाट नीलगिरि र अन्नपूर्ण हिमालको रेन्जलाई अवलोकन गर्न सकिन्छ । नारच्याङ गाउँदेखि दुई घण्टा गाडीकाे यात्रा गरेर मौरिस हर्जोग पदमार्गको करिब ७ घण्टाको पैदलयात्रापछि तालमा पुग्न सकिन्छ । अन्नपूर्ण आधारशिविर पुग्ने यो सबैभन्दा छोटो दुरीको पदमार्गको रुपमा मानिन्छ । 

सन् १९५० जुन ३ तारिखको दिन पहिलोपटक आठ हजार मिटर अग्लो अन्नपूर्ण हिमालमा मानव पाइला परेको थियो । सगरमाथा हिमालको आरोहणभन्दा ३ वर्ष पहिले सन् १९५० मा फ्रान्सेली नागरिक मौरीस हर्जोग र लुई लचेनलले पाइला टेकेपछि विश्वका आठ हजार मिटर अग्ला हिमालमा पहिलोपटक आरोहणको आरम्भ भएको थियो ।

गण्डकी प्रदेशभित्र आठहजार मिटरभन्दा अग्ला तीनवटा हिमालहरु छन् । अन्नपूर्ण हिमालय क्षेत्र नेपालको उत्तर–मध्य भागमा पर्दछ । यसमा रहेको एक हिमालयको उचाई ८ हजार मिटर छ । अन्नपूर्ण प्रथम हिमाल विश्वको दशौँ अग्लो र नेपालको नवौँ अग्लो हो । यसको उचाई ८ हजार ९१ मिटर रहेको छ । अन्नपूर्ण हिमाललाई आरोहण गर्न विश्वमा सबैभन्दा खतरनाक हिमालको रुपमा मानिन्छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमालको आधारशिविरसम्म पुग्ने पदमार्ग निर्माण तथा आवास व्यवस्थापन, आधारशिविरमा आवश्यक संरचना निर्माण तथा अन्नपूर्ण हिमालको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा जोड दिएको जनाएको छ । छोटो दुरीमा रहेको अन्नपूर्ण हिमालको आधारशिविर पुग्ने विभिन्न छ ठाउँमा आश्रयस्थलहरु निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतप्रसाद सुवेदीले बताउनुभयो । 

 


 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया