बर्दियामा बजार अनुगमन तीव्र, पौने दुई लाख मूल्य बराबरको समान जफत

 कात्तिक १२, २०७५ सोमबार १६:४६:४४ | भावुक योगी
unn.prixa.net

बर्दिया – जिल्ला प्रशासन कार्यालयबाट आएको बजार अनुगमन टोलीले बर्दियाको ठाकुरबाबा नगरपालिका १ भूरिगाँउ बजारका किराना पसलहरुमा झण्डै पौने दुई लाख मूल्य बराबरको म्याद नाघेका खाद्य सामाग्रीहरु जफत गरेको छ ।

विशेषगरी खाद्य सामानहरु बिक्री गर्ने थोक किराना पसलहरुबाट पेय पदार्थ, खाने तेल, मसला, चिया पत्ति, बिस्कुट, चाउचाउ, चकलेटलगायतका म्याद नाघेका खाद्य तथा अबैध रुपमा ल्याइएका प्रयोग गर्न अयोग्य सामानहरु फेला पारेको बजार अनुगमन टोलीका संयोजक एवं जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनुभयो ।

अनुगमन टोलीले भूरिगाँउ बजारको ठूलो थोक किराना पसल सुभाष जनरल स्टोरबाट सबैभन्दा धेरै म्याद नाघेका सामान जफत गरेको छ । सुभाष जनरल स्टोरको एउटा गोदाम कोठमा म्याद नाघेका सामानसहित सिलबन्दि गरेको छ ।

सुभाष जनरल स्टोरसहित ३५ भन्दा बढी किराना पसलहरुमा गरिएको अनुगमनका क्रमममा झण्डै एक लाख ७५ हजार मूल्य बराबरका म्याद नाघेका सामानहरु फेला पारेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन सुबेदीको संयोजकत्वमा आएको अनुगमन टोलीले भूरिगाँउ बजारका अधिकांश किराना पसलहरुमा म्याद नाघेका सामानहरु फेला पारेपछि नगरपालिकाका प्रतिनिधि, प्रहरी र पत्रकारको रोहबरमा इलाका प्रहरी कार्यालय भूरिगाउँमा राखेको छ ।

अनुगमन गरिएका अधिकांश किराना पसलहरुमा उपभोक्ता मूल्य सूची समेत नराखेको पाइएको अनुगमन टोलीले जनाएको छ । मूल्य सूची नराखी मनोमानी ढंगबाट खाद्य सामान बिक्री भइरहेकाले व्यापारीहरुलाई मुल्य सूची राख्न टोलीले आग्रह गरेको छ ।

दुई महिना अघि सुनमा मिसावट गरी कालोबजारी गरेको आरोपमा बर्दियामा १२ जना सुन व्यवसायी पक्राउ परेका थिए भने पेट्रोलियम पदार्थमा कालोबजारी गरेको पाइएपछि खैरापुरको एउटा पेट्राल पम्पलाई प्रशासनले सिलबन्दी गरेको थियो ।

बर्दियाका मुख्य बजार गुलरिया, भूरिगाउँ, बाँसगढी, सानोश्रीलगायतका बजारमा बजार अनुगमनका क्रममा विभिन्न किरान पसलमा म्याद नाघेका खाद्य सामान फेला परेपछि ती सामान प्रशासनले नष्ट गरेको थियो । ग्याँस, नापतौलका सामान, मेडिकल लगायतमा पनि अनुगमन गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया