बबई नदीमा आएकाे बाढीमा बगेर ३ जना बेपत्ता, रम्भापुरमा २४ घण्टामा २ सय २६ मिलिमिटर पानी पर्‍याे

 साउन २८, २०८० आइतबार १७:३९:३३ | भावुक योगी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

बर्दिया – बर्दियाको बबई नदीमा आएको बाढीले बगाएर गुलरियाका तीन जना बेपत्ता भएका छन् ।

आज आइतवार बाढीले बगाएर गुलरिया नगरपालिका–१२ भैंसाहीका बालकृष्ण थारु, वडा नम्बर ८ थपुवा गाउँका अक्षय थारु र गुलरियाकाे पण्डितपुरका महेश चाैधरी बेपत्ता भएका बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मलबहादुर बोहोराले जानकारी दिनुभयो । बेपत्ता भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले खोजी गरिरहेकाे उहाँले बताउनुभयाे ।

अविरल वर्षाका कारण बबई नदीमा पानीको सतह बढ्न थालेको छ । हिजोदेखि लगातार परेको पानीले बबई नदीमा पानीको सतह बढेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेकाे छ ।

जल तथा मौसम विज्ञान विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा दुई सय २६ दशमलव चार मिलिमिटर वर्षा भएकाे जनाएकाे छ । यो अति भारी वर्षा हो । यस्तै बर्दियाकै रानी जरुवा नर्सरीमा एक सय ७२ दशमलव आठ मिलिमिटर र सानोश्री चेपाङमा एक सय ७४ दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।

बर्दियामा सडक र सम्म परेका ठाउँहरू जलमग्न भएका छन् । स्थानीय खोलामा आएको बाढीले बारबर्दिया नगरपालिकाको वडा नम्बर ८ का धेरैजसाे गाउँहरू डुबानमा परेका छन् । बारबर्दिया–८ का वडाध्यक्ष नरबहादुर चन्दका अनुसार बाढी पसेपछि बिहानैदेखि गाउँ डुबानमा परेको छ । डुबान क्षेत्रका बासिन्दालाई उद्धार गरेर स्थानीय युवक माध्यमिक विद्यालय र जनज्योति विद्यालयमा राखिएको उहाँले बताउनुभयो । अहिले डुबान भएका ठाउँहरूको पानी घट्दो क्रममा रहेको भए पनि पानी लगातार परिरहेकाले सतर्कता अपनाइएको उहाँकाे भनाइ छ । 

यस्तै कर्णाली र बबई नदीलगायत स्थानीय खोलामा आकस्मिक बाढी आउने भएकाले आसपासका बस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया