नेपालको पर्यटन विकासमा सहयोग गर्न तयार छौँ : राजदूत पार्क

 भदौ १५, २०८० शुक्रबार १५:४९:१६ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – नेपालका लागि दक्षिण कोरियाका राजदूत ताय–योङ पार्कले नेपालको पर्यटन क्षेत्रको विकास तथा कोरियन पर्यटक भित्र्याउनका लागि कोरियन टुर एन्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) सँग सहकार्य र सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

'कोटान' को आयोजना तथा दक्षिण कोरियाली राजदूतावासको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्धनमा कोरियाली पर्यटकहरूको खानपिन, सुरक्षा र उद्धारसम्बन्धी आज शुक्रवार आयोजित एकदिवसीय तालिममा राजदूत पार्कले नेपाल कोरियालीहरूका लागि निकै परिचित नाम भएको र नेपालमा धेरैभन्दा धेरै कोरियाली पर्यटकहरू आउन उत्साहित रहेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘आउँदा दिनमा नेपाल आउने कोरियन पर्यटकहरूको सङ्ख्या अझै बढ्ने विश्वास लिएको छु । सन् २०२४ मा नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्दै छ । नेपालको पर्यटन क्षेत्रको विकास तथा कोरियन पर्यटक भित्र्याउनका लागि सहकार्य र सहयोग गर्न सधैँ तत्पर छौँ ।’ उहाँले नेपाल–कोरियासँग रहेको लामो सम्बन्धका कारण पनि आफूले कोरियाली पर्यटक नेपालमा अझै बढ्ने विश्वास लिएको उल्लेख गर्नुभयो ।

कोरियामा बिदाको समयमा साना साना पहाडतिर ट्रेकिङ गर्न जाने प्रवृत्ति रहेको बताउँदै राजदूत पार्कले भन्नुभयो, ‘नेपालमा ट्रेकिङ क्षेत्रहरू धेरै छन् । जसका कारण मैले नेपालमा धेरै कोरियाली पर्यटक आउने सम्भावना देखेको छु ।’

कार्यक्रममा 'कोटान' का अध्यक्ष अमरबहादुर शाहीले तालिमबारे जानकारी दिँदै भन्नुभयो, ‘नेपालको पर्यटकको प्रमुख स्रोत देशमध्ये कोरिया पनि एक हो, कोरियाबाट आउने पर्यटकहरूलाई स्तरीय सेवा दिनका लागि पनि यो तालिम गर्न आवश्यक थियो, नेपालको पर्यटकीय तथा आर्थिक विकासका लागि यसले निकै सहयोग पुग्ने छ ।’ कोरियाली पर्यटहरूलाई नेपालमा सेवा दिने नेपालमा रहेका ट्रेकिङ, ट्राभल कम्पनीमा कार्यरत गाइड, कुक र सहायक गाइड गरी एक सय जना यो तालिममा सहभागी छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया