अरुण तेस्राे जलविद्युत् आयाेजना : मुआब्जा माग गर्दै जग्गाधनीद्वारा सडक बन्द

 भदौ १६, २०८० शनिबार १८:३३:५२ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा—संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग स्थानीयले बन्द गरेका छन् ।

आज शनिवार अरुण तेस्रो प्रवेशमार्ग अन्तर्गत खाँदबारी नगरपालिका–४ को छयाङकुटी डाँडामा भेला भइ स्थानीय जग्गाधनीहरुले मुआब्जा माग गर्दै अनिश्चितकालीन सडक बन्द गरेका हुन् ।

पटक/पटकको मागलाई बेवास्ता गरेकाले सडकमा नै उत्रिनुपरेको स्थानीयहरु बताउँछन् ।

‘राष्ट्रिय गौरवको आयोजनाले स्थानीयलाई सुकुम्बासी बनाउन पाइँदैन, सरकार कहाँ छौ—हामी पालमुनिको बासमा छाैँ’ लगायतका नारा लेखिएको ब्यानर टाँगेर सडक बन्द गरेका हुन् ।

अरुण तेस्रो प्रवेशमार्गको खाँदबारी नगरपालिका–४ को छयाङकुटी डाँडादेखि चिचिला गाउँपालिका–३ पुखुवा विद्युत् गृहसम्म जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै अनिश्चितकालीन रुपमा सडक बन्द गरिएको जग्गाधनीहरु भनाइ छ ।

मुआब्जा वितरण गर्न सरकारले विभिन्न बहाना बनाउँदै आलटाल गरेको अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित संघर्ष समितिका केन्द्रीय संयोजक जनीकुमार राईले बताउनुभयो ।

उहाँले सरकारसँग पटक/पटक आग्रह गर्दा पनि बेवास्ता गरेकाले मुआब्जा रकम वितरण नहुन्जेलसम्म प्रवेशमार्ग बन्द गरिने बताउनुभयो । 

गएको वैशाख २६ गते छयाङकुटी–दिदिङ्ग सडक खण्डको छुट मुआब्जा जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रति रोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो ।

पहिलो चरणमा चार सय ५४ रोपनीको जम्मा ५३ करोड ७४ लाख ५० हजार रुपैयाँ बजेट निकासीको लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो । तर, सरकारले जनतालाई रकम चाहिँ बाँडेकाे छैन ।

अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ ।

आयोजनाको हालसम्म करिब ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया