बझाङमा भूकम्पपछि चार दिनमा तीन सयभन्दा धेरै साना ठूला परकम्प

 असोज १९, २०८० शुक्रबार ७:५६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बझाङमा भूकम्पपछि चार दिनमा तीन सयभन्दा धेरै साना ठूला परकम्प गएका छन् । चैनपुर केन्द्रबिन्दु भएर गएराति पनि दुई वटा परकम्प गएका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गएराति १० बजेर ५२ मिनेटमा ४ दशमलव ५ र १२ बजेर २३ मिनेटमा ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो ।

गएको मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । लगत्तै दोस्रोपटक ३ बजेर ६ मिनेटमा सदरमुकाम चैनपुर भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

ठूलो भूकम्पपछि केही महिना वा वर्षसम्म पनि परकम्प जाने गरेको केन्द्रका भूकम्पविद् डा.मुकुन्द भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बझाङमा भूकम्पपछि अहिलेसम्म तीन सयभन्दा धेरै साना ठूला परकम्प गएका छन् ।  बझाङ भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा जिल्ला प्रभावित भएका छन् ।

बझाङसहित बाजुरा, डोटी, अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा घर तथा सार्वजनिक भवनमा क्षति पुगेको छ । केही पीडितहरु अहिले पनि घरबाहिर टेन्टमा बस्दै आएका छन् । बझाङमा भूकम्पका कारण पहिरोमा परेर एक महिलाको ज्यान गएको थियो । निरन्तर परकम्प आइरहेकाले भूकम्पले चर्के/भत्केका घरमा तत्काल बस्न जोखिम रहेको भूकम्पविद् भट्टराईले बताउनुभयो । परकम्पबाट थप क्षति हुने जोखिम कायमै रहेकाले सचेत रहन पनि उहाँको आग्रह छ ।

नेपाल भूकम्पको उच्च जोखिम क्षेत्र रहेकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिम रहेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि परकम्प आउनेक्रम निरन्तर छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा सा–साना भूकम्प गइरहेका छन् ।  

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया