दश किलो एक सय ग्राम चरेससहित तीनजना पक्राउ

 कात्तिक २०, २०७५ मंगलबार १८:१२:३९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – अवैध लागुऔषध चरेससहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । आठबीसकोट नगरपालिका–१३, भल्म भन्ने ठाउँबाट दश किलो एक सय ग्राम चरेससहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार बिहान १ बजे कर्णाली प्रदेश प्रहरी व्यूरो एसआइटी र जिल्ला प्रहरी कार्यालयलयको सयुंक्त टोलीले दश किलो एक सय ग्राम चरेससहित आठबीसकोट नगरपालिका–९, का ४२ वर्षीय इन्द्र चन्द, सोही ठाउँका ३८ वर्षका कर्णबहादुर शाही र सल्यान सिद्धकुमाख गाउँपालिका ढोरचौर घर भई दाङको तुलसीपुर उपमहानगरपालिका–९, बस्ने ६० वर्षका हिक्मत बुढाथोकीलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा गएको प्रहरी टोली चरेससहित ओसार पसारमा संलग्न तीनजना पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

पक्राउ परेकाहरुको साथबाट २ थान सानो तराजु, एक थान डिजिटल स्प्रिङ तराजु, १७ वटा नापतौलमा प्रयोग गरिएको पूरानो सिक्का, आधा किलोको ढक, ४३ हजार ४ सय ४५ रुपैयाँ, तीन वटा मोबाइल र एउटा टर्च समेत बरामद भएको डीएसपी खड्काले जानकारी दिनुभयो ।

चरेस ओसारपसारमा अरुको पनि संलग्नता हुन सक्ने डीएसपी खड्काले बताउनुभयो । पक्राउ परेकाहरुविरुद्ध मंगलबार नै लागुऔषध अन्तर्गत मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाइसकेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया