सर्पले टोक्यो, त्यसपछि आफैले लेखे आफ्नै मृत्युको कथा

 कात्तिक २४, २०७५ शनिबार २०:२६:२० | उज्यालो सहकर्मी

के कुनै वैज्ञानिकले अनुसन्धानका लागि आफ्नो ज्यानै दिन सक्छन् ?

इतिहासमा यस्तो घटना एकाध होइन, थुप्रै छन् । त्यसैमा एउटा इतिहास छ काल प्याटर्सन शिमिटको । 

शिकागाे डेली ट्रिब्यून

सन् १९५७ । सेप्टेम्बरको महिना । अमेरिकाको शिकागो राज्यको लिंकन पार्कको एउटा चिडियाखानामा काम गर्ने एक व्यक्तिले एउटा अजीबोगरिब सर्प फेला पारे ।
७६ सेन्टीमिटर लम्बाइ रहेको त्यो सर्पको प्रजाति थाहा पाउनका लागि त्यसलाई शिकागोको नेचुरल हिस्ट्री म्यूजियममा पुर्‍याइयाे । त्यहाँ चर्चित वैज्ञानिक कार्ल प्याटर्सन शिमिटसँग भयो । पब्लिक रेडियो इन्टरनेसनलमा आवद्ध एलिजाबेथ शोकम्यानका अनुसार शिमिट सरीसृप विज्ञानका निकै जानकार मानिन्थे ।

सर्पको शरीरमा बहुरंगी आकृतिहरु देखेपछि उनी त्यो सर्पको प्रजाति पत्ता लगाउन तयार भए । 

त्यसपछि सेप्टेम्बर २५ आफ्नो अनुसन्धानबाट उनले त्यो सर्प अफ्रिकामा पाइने एक प्रजातिको सर्प भएको पत्ता लगाए ।

बूमस्ल्याङ सर्पकाे जस्तै थियाे त्यसकाे टाउकाे

कस्तो थियो सर्प ?

त्यो सर्पको टाउको सब–सहारन अफ्रिकाको जंगलमा पाइने बूमस्ल्याङ सर्पको जस्तै थियो । तर शिमिट आफ्नो अनुसन्धानमा सन्तुष्ट थिएनन् । 

आफ्नो जर्नलमा शिमिटले त्यो सर्पको एनल प्लेट नबाँडिएको हुँदा आफू बूमस्ल्याङ सर्प नै हो भन्न नसक्ने अवस्थामा रहेको बताएका थिए । तर त्यो शंका हटाउनका लागि शिमिटले जे काम गरे, त्यसबाट आफ्नै ज्यान गुमाउन पुगे । 

साइन्स फाेटाे लाइब्रेरी

जब सर्पले टोक्यो

शिमिट सर्पलाई नजिकै ल्याएर उसको शरीरमा रहेको आकृतिको अध्ययन गर्दै थिए । 

उनी अचम्मित हुँदै सर्पको शरीर र टाउकोमा बनेको आकृति र रंग हेरिरहेका थिए, त्यति नै बेला उनको औँलामा सर्पले टोक्यो । तर शिमिट डाक्टरकोमा जानुको सट्टामा औँला चुसेर विष निकाल्ने प्रयासमा लागे । 

त्यतिमात्रै होइन, सर्पले टोकेपछिका आफ्ना अनुभव उनले डायरीमा टिप्न थाले ।

आफ्नो जर्नलमा शिमिट लेख्छन्ः

  • ४ः३०–५ः३० - वाकवाकी लागेजस्तो भए पनि उल्टीचाहिँ भएन । मैले होमवुडसम्मको एउटा रेलमा यात्रा पनि गरेँ ।
  • ५ः३०–६ः३० - निकै जाडो भैरहेको थियो । करेन्ट लागेझैँ नै भयो । त्यसपछि १०१.७ डिग्रीको ज्वरो आयो । साँझ ५ः३० मा गिँजाबाट रगत आउन थाल्यो । 
  • ८ः३० - मैले दुईवटा टोस्ट खाएँ ।
  • राति ९ बजेदेखि १२ः२० सम्म - म आरामले सुते । त्यसपछि मैले पिसाब गरेँ । जसमा रगतकै मात्रा बढी थियो । 
  • २६ सेप्टेम्बर बिहान ४ः३० - मैले एक गिलास पानी पिएँ । मैले उल्टी पनि गरेँ । खाएको कुरा केही पचेकै थिएन । उल्टी भएपछि मैले केही राहतको सास फेरेँ । बिहान साढे ६ बजेसम्म नै सुतेँ म ।
  • बिहान साढे ६ बजे मेरो शरीरको तापक्रम ९८.२ डिग्री सेल्सियस थियो । मैले टोस्टसँगै उसिनेको अण्डा, एप्पल सस र कफी पिएँ । त्यसपछि पिसाब आएन । हरेक तीन घण्टाको फरकमा एक औँस रगत आयो । मुख र नाकबाट रगत बग्न थाल्यो तर धेरै होइन । 

निकै ढिला भैसकेको थियो

त्यसपछि शिमिटले दिउँसो डेढ बजे आफ्नी श्रीमतीलाई फोन गरे । डाक्टर आइपुग्दा शिमिटको पूरा शरीर पसिनाले डुबिसकेको थियो । 

उनी बेहोस थिए । अस्पताल लैजाँदै गर्दा पनि डाक्टरहरुले उनलाई होसमा ल्याउन निकै प्रयत्न गरेका थिए । तर तीन बजे डाक्टरले शिमिटलाई मृत घोषित गरे । श्वासप्रश्वासमा समस्या भएका कारण शिमिटको मृत्यु भएको डाक्टरले बताए । 

कति विषालु हुन्छ बूमस्ल्याङ ?

अफ्रिकी सर्प बूमस्ल्याङको विष निकै छिटो शरीरमा फैलिन्छ । कुनै चराको ज्यान लिन यसको ०.०००६ मिलिग्राम विष काफी हुन्छ ।

यो सर्पको विष मानिसको शरीरमा प्रवेश गर्नेबित्तिकै रगत जम्न थाल्छ । रक्तसञ्चार प्रक्रिया ठप्प हुन्छ । त्यसपछि शरीरको अलग–अलग ठाउँबाट रगत निस्कन थाल्छ ।

शिकागाे डेली ट्रिब्यून

पोस्टमार्टम रिपोर्टका अनुसार शिमिटको कलेजो, आँखा, मुटु, किड्नी तथा दिमागबाट रगत बगिरहेको थियो । 

शिकागो ट्रिब्यूनमा यो घटनाका बारेमा छापिएको एउटा समाचारमा शिमिटलाई पटक–पटक डाक्टरको जान आग्रह गर्दा पनि उनले यसको लक्षणमा फरक पर्न सक्ने भन्दै अस्वीकार गरेको जनाइएको छ । केही मानिस शिमिटको जिज्ञासाले नै उनको ज्यान गएको बताउँछन् ।

तर केही मानिस भने शिमिट यति प्रतिष्ठित वैज्ञानिक थिए कि उनलाई यो विषबाट बच्नका लागि पाइने औषधि अफ्रिकामा मात्र उपलब्ध भएको थाहा थियो । त्यसैले उनले मृत्युलाई स्वीकार गरेका थिए । 

शिकागाेमा रहेकाे नेचुरल हिस्ट्री म्यूजियम

पब्लिक रेडियो इन्टरनेसनलमा साइन्स फ्राइडे कार्यक्रम चलाउने टोम मेकनमाराका अनुसार शिमिट आफ्नो मृत्युबाट रत्तिभर डराएनन्, बरु उनी एउटा अज्ञात अनुसन्धानमा लागे ।

-बीबीसीबाट
 

अन्तिम अपडेट: कात्तिक २९, २०७५

तपाईको प्रतिक्रिया