अर्थतन्त्रमा सुधार हुँदै गएको छ : अर्थमन्त्री महत

 पुस २१, २०८० शनिबार १९:३९:४ | रासस
unn.prixa.net

चितवन – अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार हुँदै गएकाले उद्योग–व्यवसायमा लागेकाहरुले नकारात्मक सोचबाट मुक्त भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

चितवन उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्रीले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएकाले उद्योगी–व्यवसायीले नकारात्मक सोचबाट मुक्त भइ व्यवसाय गर्नुपर्नेमा जोड दिनुभयो । अर्थतन्त्रमा सुधार देखिन थालेपछि विदेशी लगानीकर्ता आउन थालेका बताउँदै उहाँले व्यवसाय गर्नेहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ भन्नुभयो । ‘उद्योगी व्यवसायी नै नकारात्मक सोचका साथ हिँडेपछि कसरी अर्थतन्त्रमा सुधार हुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो । 

अर्थतन्त्रका समस्या पूर्णरूपमा समाधान नभए पनि विगतको तुलनामा अहिले केही सुधार हुँदै  गएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो ‘अर्थतन्त्रमा दबाब छ, तर समस्या छैन । पूँजीगत खर्च बढाउनेतर्फ सरकार लागेको छ ।’ सरकारले अनुत्पादक क्षेत्रको बजेट नियमन गर्न लागेको उहाँले बताउनुभयो । 

बैंकहरुको लगानी शेयर बजार र जग्गामा धेरै हुँदा अहिले समस्या देखिएको भए पनि यसलाई खुकुलो गरिएको बताउँदै उहाँले भन्नुभयो ‘सबै लगानी अनुत्पादक क्षेत्रमा भएपछि राष्ट्र बैंकले कठोर मौद्रिक नीति बनायो जसका कारण समस्या आयो । अहिले यसलाई बिस्तारै खुकुलो बनाउँदै लगिएको छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै व्यवसायी सकारात्मक सोचका साथ लाग्न जरुरी रहेको बताउनुभयो । उद्योगी–व्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानका लागि सरकारले विशेष प्रयास  गर्नुपर्नेमा जोड दिनुभयोे । अहिले अर्थतन्त्रमा देखिएको समस्या सहज भएपछि छोटो समयमा फड्को मार्न सक्नेगरी काम गर्नुपर्ने उहाँले बताउनुभयो । अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन निजी क्षेत्र र सरकारबीच वास्तविक सहकार्य हुनैपर्छ भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया