पर्यटकको सङ्ख्या अझै बढ्छ

 पुस २५, २०८० बुधबार ९:२:४५ | कालीबहादुर भुजेल
unn.prixa.net

फाइल तस्बिर

अहिले नेपालमा विदेशी पर्यटकको वृद्धि भएको छ र, त्यो उत्साहजनक देखिएको छ । पर्यटकको सङ्ख्या वृद्धि गर्न विभिन्न सरोकारवाला निकायहरुले आफ्नो, आफ्नो ढङ्गबाट काम गरिरहेका छन् । पर्यटन विभागले पनि पर्यटन प्रवर्द्धनका विभिन्न काम गर्दै आइरहेको छ । पर्यटन विभागले खासगरी चार प्रकृतिको काम गर्छ । एउटा छ हजार पाँच सय मिटरभन्दा अग्ला हिमालहरुको आरोहणको अनुमति दिने लगायतका काम हो । अर्को भनेको तारे होटलहरुको दर्ता तथा नवीकरणको काम । त्यस्तै विभागले बहुवर्षीय आयोजनाको रुपमा उच्च हिमालयका ट्रेल निर्माणको काम पनि गर्ने गर्छ । अहिले विशेष गरेर बेस क्याम्पसम्म जोड्ने ट्रेलका कामहरु भइरहेका छन् । विभागले गर्नेे अर्को काम भनेको साहसिक पर्यटनसँग सम्बन्धित विभिन्न खेलहरुको इजाजत पत्र प्रदान गर्ने र नवीकरण गर्ने हो । यी सबै कामहरु आन्तरिक वा वैदेशिक पर्यटकहरुसँग सम्बन्धित छन् । यी कुराहरुलाई सुधार गर्दै जाने हो भने पर्यटकको आगमनमा पक्कै सहज हुन्छ  र वृद्धि पनि हुन्छ भन्ने लाग्छ ।

पर्यटकको वृद्धिको लागि पर्यटकको आरामदायी बसाइसँग पनि जोडिएको हुन्छ । त्यसका लागि विभागले एकतारे भन्दा माथिका होटलहरुको स्तर निर्धारण गर्ने काम गर्छ । साथै इजाजात पत्र र नवीकरणको काम पनि विभागले गर्छ । विभिन्न समयमा दर्ता भएर अहिलेसम्म एकतारेदेखि पाँचतारे डिलक्ससम्मका होटलहरु हामीसँग छन् । सबै प्रदेशमा यस्ता होटलहरु छन् । विशेषगरी बाग्मती प्रदेशमा बढी होटलहरु भए पनि अन्य प्रदेशमा पनि यस्ता किसिमका होटलहरु छन् । हाम्रो रेकर्ड अनुसार अहिलेसम्म कर्णाली प्रदेशमा तारे स्तरका होटलहरु दर्ता हुन आएको छैन ।

हामीले जुन ठाउँमा तारे स्तरका होटलहरु छैनन् त्यहाँ तारे स्तरका होटलहरु दर्ता गर्ने विषयमा पहलकदमी गर्ने र अन्य हामीकहाँ दर्ता भएका तर, नवीकरण नभएका होटलहरुको अवस्था के छ भनेर हेर्नुपर्ने पनि छ । यसमा विशेष गरी तीनतारे भन्दा मुनिका होटलहरुमा एक पटक दर्ता हुने, इजाजत पत्र लिने तर, नवीकरण नगरेको हाम्रो रेकर्डमा रहेको छ । त्यस्ता सबै होटलहरुलाई पत्राचार गर्ने र तिनको अवस्था के रहेको छ हेर्ने काम पनि अहिले विभागको जिम्मेवारीमा थपिएको छ । त्यस्ता होटलहरुलाई नवीकरण प्रक्रियामा लैजाने र मापदण्डका कुरामा हेर्नुपर्ने, सुधार गर्नुपर्ने रहेछ भने त्यो काम समेत गर्ने भनेर अहिले सुधार समिति पनि गठन भएको छ । समितिको समय चैत मसान्तसम्म रहेको छ । यो काम पनि अहिले विभागले गरिरहेको छ ।

अहिले उल्लेख्यरुपमा होटलहरु निर्माण भइरहेका छन् । धेरै तारे तथा पाँच तारे होटलहरु पाइपलाइनमा पनि छन् । कतिपय निर्माणाधीन पनि छन् । धेरैको वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि भइरहेको छ । अहिले विभागमा महिनामा तीन/चार वटा होटलहरुको वातावरणीय प्रतिवेदनहरु आइरहेको छ । यो अवस्था हेर्दा पनि निजी क्षेत्र निकै आकर्षित भएको तथा उत्साहित भएको देखिन्छ ।

पर्यटन प्रवर्द्धनको काम भनेको निकै लामो समय लाग्ने काम हो । एउटा होटल बन्न झण्डै चार/पाँच वर्षको समय लाग्छ भने लगानी पनि निकै लाग्छ । त्यसकारण पनि भनेको समयमा होटल निर्माण हुन सक्दैन । यद्यपि जसरी अहिले होटल बनाउने लहर देखिन्छ त्यो हेर्दा भने अहिलेको अवस्थालाई उत्साहजनक नै भन्नुपर्छ ।

प्रदेशगतरुपमा भन्नुपर्दा अहिले कोशी प्रदेशमा १० वटा तारे स्तरका होटलहरु छन् । मधेश प्रदेशमा ११ वटा तारे स्तरका होटलहरु छन् भने बाग्मती प्रदेशमा एक सय १४ वटा तारे स्तरका होटलहरु छन् । त्यस्तै गण्डकीमा २२ वटा, लुम्बिनीमा २६ वटा, सुदूरपश्चिम प्रदेशमा तीन वटा तारे स्तरका होटलहरु छन् । कर्णाली प्रदेशबाट भने विभागमा कुनै पनि तारे स्तरका होटलहरु दर्ता हुन आएका छैनन् । तारे स्तरका होटलहरु कर्णालीमा छन् । तर, विभागमा भने स्तर वर्गाीकरण गरी इजाजत लिन नआएकोले यस बारेमा पनि सरोकारवाला निकायसँग विभागमा छलफलमा जुटेको छ । माथिको विवरण भनेको एक तारेदेखि पाँच तारे डिलक्स होटलसम्मको विवरण हो ।

साहसिक खेलकुदमा पनि पर्यटकको आकर्षण देखिएको छ । हामीकहाँ विशेषगरी बञ्जी जम्प लगायत अन्य साहसिक पर्यटनमा पनि आकर्षित भएका छन् । साहसिक पर्यटनका लागि मात्र भनेर पक्कै पनि पर्यटकको आगमन नहोला । आन्तरिक पर्यटक भने साहसिक पर्यटनको लागि मात्र गएको, खेलेको देखिन्छ । तर, विदेशी पर्यटकको हकमा भने त्यसो हुँदैन । उनीहरु यहाँ आएपछि बस्ने, खानेदेखि अन्य पर्यटनका साथै साहसिक पर्यटनमा पनि सहभागी भएको देखिन्छ ।

अहिले विभिन्न प्रकृतिका साहसिक खेलहरु चलिरहेका छन् । कतिपय दर्ता हुने क्रममा पनि छन् । विशेष गरी अहिले बञ्जी जम्प, जे फ्लाइङ जस्ता साहसिक खेलहरु दर्ताका लागि आइरहेका छन् । त्यसमा पनि विशेष गरी जे फ्लाइङ खेलहरु अहिले अलि बढी दर्ताको क्रममा आइरहेका छन् ।

पर्यटन प्रवर्द्धनका लागि विभाग त लागेको छ नै अन्य सरोकारवाला निकाय पनि लाग्नै पर्छ । नेपालको उद्योगकोरुपमा पर्यटन उद्योगलाई लानुपर्ने हुँदा पनि यसमा सरोकारवाला सबै निकायहरु लाग्नै पर्ने हुन्छ । यसकारण हामीले आफ्नो ठाउँबाट आफ्ना कामहरु गरिरहेका छौँ । तर, यसमा विभागले मात्र गरेर पुग्दैन । पर्यटन प्रवर्द्धनका लागि अन्य सरोकारवालाहरु पनि लाग्नु पर्छ । यसलाई अझ तीव्रताका साथ अगाडि बढाउनु पर्ने पनि देखिन्छ ।

( पर्यटन विभागका निर्देशक भुजेलसँगकाे कुराकानीमा आधारित ) 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कालीबहादुर भुजेल

भुजेल पर्यटन विभागकाे निर्देशक एवम् प्रवक्ता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया