अख्तियारको ३३ औँ स्थापना दिवस : भ्रष्टाचारको प्रभावकारी र पारदर्शी अनुसन्धानमा चुनौती

 माघ २८, २०८० आइतबार ९:१२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘सुधारौँ सोच, संस्कार र व्यवहार : नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने मूल नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३३ औँ स्थापना दिवस मनाउँदैछ । सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेकोबारे अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक निकायका रूपमा आयोगको स्थापना भएको हो।

आयोगले स्थापनादेखि अहिलेसम्म अख्तियार दुरुपयोग भएका विषयमा अनुसन्धान र छानबिन गरी भ्रष्टाचार गरेको देखिएमा अदालतमा मुद्दा दायर गर्दै आएको छ । आयोगले गरेका काम सङ्ख्यात्मक रुपमा चित्तबुझ्दो भए पनि प्रभावकारी अनुसन्धानमा चुनौती रहेको जानकारहरुको भनाइ छ ।

भ्रष्टाचार रोक्न चुनौतीपूर्ण रहेको तथा सरकारी कोषमा राजस्व सङ्कलन गर्ने र खर्च गर्ने दुवै अवस्थामा भ्रष्टाचार हुने प्रवृत्ति विद्यमान रहेको अख्तियारले नै भन्दै आएको छ । सरकारका प्रायः सबै क्षेत्रमा कुनै न कुनै किसिमको भ्रष्टाचार रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले देखाउँदै आएको छ ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले पनि वित्तीय अराजकता बढेको औँल्याएको छ । भ्रष्टाचार निवारणका लागि आयोग स्वायत्त निकाय भए पनि बहालवाला तथा पूर्वमन्त्रीहरू छानबिनका लागि बयान दिन आनाकानी गर्ने, राजनीतिक पहुँचका आधारमा भ्रष्टाचारमा मुछिएकालाई जोगाउन खोज्ने लगायतका घटनाले आयोगको गरिमामाथि प्रश्न पनि उठ्न थालेको छ ।

पछिल्लो समय सरकारी निकाय तथा जिम्मेवार पदाधिकारीले जिम्मेवारी तथा उत्तरदायित्व नलिने, समयमा निर्णय लिन डराउने, निर्णय पन्छाउने, स्वार्थ बाझिँदा पनि आफ्ना पक्षमा निर्णय गर्ने प्रवृत्ति रहेको भन्ने गुनासो पनि बढ्न थालेको छ । देशमा विद्यमान भ्रष्टाचार रोक्न सरकारी निकाय, नियमन निकाय र नागरिक समाजको संयुक्त हातेमालो जरुरी रहेकोमा अख्तियारले जोड दिँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया