भारतमा किसान आन्दाेलन : दिल्लीमा निषेधाज्ञा, प्रदर्शनकारीलाई राेक्न ठाउँठाउँमा काँडेतार

 फागुन १, २०८० मंगलबार १८:९:८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आफूले फलाएको अन्नबालीले उचित मूल्य पाउनुपर्ने लगायत मागसहित भारतको हरियाणा, पन्जाब र उत्तर प्रदेश राज्यका किसानहरू प्रदर्शन गर्दै सङ्घीय राजधानी दिल्लीतिर गइरहेका छन् ।

उनीहरूलाई रोक्न प्रहरीले प्रहरीले हरियाणा र पन्जाबको सीमामा अश्रुग्यास प्रहर गरेको बीबीसीले जनाएको छ । दिल्ली प्रहरीले पूरै प्रदेशमा पाँच जनाभन्दा धेरै सङ्ख्यामा एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ । प्रहरीले दिल्लीसँग जोडिएका सीमा तीनतिर बन्द गरिदिएको छ । यस्तै दिल्ली मेट्रोले आफ्ना आठ वटा स्टेशन बन्द गरेको छ । प्रदर्शनकारीहरूलाई दिल्ली प्रवेश गर्न नदिन ठाउँठाउँमा काँडेतार लगाइएको छ । हरियाणा राज्य सरकारले केही जिल्लामा इन्टरनेट सेवा बन्द गरिदिएको छ ।

भारतका किसानहरूले उत्पादन लागतमा ५० प्रतिशत नाफा दिनुपर्ने, ऋण माफ हुनुपर्ने, दैनिक ज्याला सात सय रुपैयाँ हुनुपर्ने लगायतका माग राखेका छन् । यसअघि सन् २०२० मा पनि किसानहरूले एउटा विवादित कृषि कानुनको विरोध गर्दै दिल्लीको सीमामा कैयौँ दिनसम्म धर्ना दिएका थिए । झन्डै एक वर्ष चलेको आन्दोलनमा कैयौँ सहभागीको ज्यान गएको थियो । सरकारले विवादित कानुन फिर्ता लिएपछि किसानहरूले आन्दोलन फिर्ता लिएका थिए ।

भारतमा केही महिनापछि आमचुनाव हुँदैछ । यही बेला किसानहरूले शुरु गरेको आन्दोलनले प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकाल सत्तामा रहने प्रयासमा समस्या पर्ने देखिएको छ । भारतमा किसानहरू प्रभावशाली मतदाता हुन् । विज्ञहरूका अनुसार सरकारले चुनावअघि किसानहरूलाई बेवास्ता गर्न सक्ने अवस्था छैन ।

सङ्घीय मन्त्री र किसानका प्रतिनिधिबीच हिजो भएको वार्तामा सन् २०२० को आन्दोलनका क्रममा प्रदर्शनकारीहरूमाथि लगाइएका मुद्दा फिर्ता लिने लगायतका विषयमा दुवै पक्ष सहमत भएको बताइएको छ । तर न्यूनतम समर्थत मूल्यमा सहमति हुन सकेको छैन । सन् २०२१ मा विवादित कृषि कानुनहरू खारेज भएपछि सरकारले सबै कृषि उत्पादनहरूको समर्थन मूल्य सुनिश्चित गर्ने उपायहरू खोज्न एउटा समिति गठन गरेको थियो । तर समितिले अहिलेसम्म प्रतिवेदन बुझाउन सकेको छैन ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया