ऋण त तिर्नै पर्छ, भ्रम फैलाउनेलाई सरकारले सहन सक्दैन : अर्थमन्त्री

 फागुन ५, २०८० शनिबार १८:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चौथौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आजदेखि काठमाण्डाैमा शुरु भएको छ । ‘स्वस्थ लघुवित्त,समृद्ध सदस्य’ नारासहित शुरु भएको सम्मेलनको अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गर्नुभयाे ।

कार्यक्रममा अर्थमन्त्री महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताउनुभयो । नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै उहाँले जीविकोपार्जनमा समेत महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ७७ वटै जिल्लामा फैलिएका लघुवित्तले गाउँगाउँका नागरिकमा बचत र ऋण परिचालनको ज्ञानसमेत दिएको उहाँको भनाइ थियो ।

प्रजातन्त्र र लोकतन्त्र आएपछि नेपालमा लघुवित्त र सहकारीमा धेरै विकास भएको स्मरण गर्दै अर्थमन्त्री महतले गरिबीलाई शून्यमा झार्ने, स्थानीयस्तरमा लघुउद्यम र स्वरोजगार बनाउने तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न धेरै सहयोग पुगेको उल्लेख गर्नुभयो । ‘अहिले लघुवित्तमा केही समस्या देखिएको छ, यसलाई कसरी स्वस्थ बनाउने भन्ने सबैको चिन्ताको विषय हो । केही समस्यालाई देखाएर स्वार्थ समूहले खेल्ने प्रयास गरेको देखिएको छ, यस्तो राम्रो क्षेत्रलाई राजनीतिकरण गर्न खोज्नेहरूलाई कदापी सफल हुन दिने छैनौँ’, उहाँले भन्नुभयो, ‘ऋण नतिर्न उस्काउने खतरनाक प्रवृत्ति हो । सरकार चुप लाग्दैन, सरकारको साथमा लघुवित्तकै सदस्य र बचतकर्ता मिलेर गलत प्रवृत्तिलाई हराउनुपर्छ ।’

उहाँले ऋण तिर्न पर्दैन भन्ने भ्रममा नबस्न पनि आमऋणीलाई आग्रह गर्नुभयो । ‘लिएको ऋण तिर्न पर्दैन, हामी माफी गर्दिन्छौँ भन्दै आशा जगाएर स्वार्थ समूह खेल्न खोज्दैछ ।  बचतकर्ताको बचतबाट लगेको ऋण कदापी मिनाहा हुँदैन । बरु सरकारले विभिन्न सहजीकरण गरेको छ । ऋण त तिर्नैपर्छ । तिर्न पर्दैन भन्ने प्रवृत्ति परास्त हुन्छ’, महतले भन्नुभयो । ऋण तिर्न पर्दैन भनेर भ्रम फैलाउनेलाई राज्यले सहन नसक्ने उहाँकाे चेतावनी थियो ।

लघुवित्तले अब आफ्नै उद्देश्यअनुसार मात्रै काम गरेर आफूलाई सुधार गर्नुपर्ने अर्थमन्त्रीकाे सुझाव थियो । लघुवित्तलाई नाफा कमाउने औजारको रूपमा नलिएर ग्रामीण विकास, लघु उद्यम र स्वरोजगारलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उहाँको आग्रह छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले २१ प्रतिशत जनसङ्ख्या औपचारिक वित्तीय पहुँचमा नहेरेको अवस्थामा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । समावेशी विकासका लागि सरकारले विभिन्न कार्यक्रम ल्याउँदा पनि अपेक्षित सफलता हात नपरेको अवस्थामा लघुवित्तको सहायताले मात्रै समावेशी विकास भएको उहाँको भनाइ थियो ।

भाेलिसम्म सञ्चालन हुने सम्मेलनमा लघुवित्त क्षेत्रका नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, लघुवित्त सदस्य, विज्ञ, सरोकारवालालगायत आठ सय जनाभन्दा धेरै सहभागी छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया