सडकमा पीडितहरुका थरीथरी प्रदर्शन, असन्तुुष्ट समूहको माग पूरा गर्न सरकार उदासीन

 फागुन १८, २०८० शुक्रबार १०:१६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मिटरब्याज पीडित, लघुवित्त पीडित र सहकारी पीडितले छुट्टाछुट्टै प्रदर्शन गरिरहँदा दूध उत्पादक किसानले पनि केही दिनदेखि आन्दोलन थालेका छन् । किसानहरूले ‘मिल्क होलिडे’ अर्थात दूध बिक्री नहुने समस्याको अन्त्य हुनपर्ने र दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने लगायतका माग गरेका छन् ।

सरकारी तथा निजी क्षेत्रका दुग्ध उद्योगहरूले किसानबाट किनेको दूधको रकम दिएका छैनन् । दूध तथा दुग्ध पदार्थको मौज्दात बढेपछि सरकारले दूध तथा दुग्ध पदार्थ आयातमा रोकसमेत लगाएको छ । किसानले बेचेको दूधको पैसा नपाएको ५/६ महिना भैसकेको छ । यो अवधिमा देशभरका किसानको ६ अर्ब रुपैयाँ भन्दा धेरै भुक्तानी हुन बाँकी छ । भुक्तानी नपाएपछि देशभरका दूध उत्पादक किसानले प्रदर्शन थालेका हुन् । भुक्तानी नपाए आउँदो २१ गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने किसानले बताएका छन् ।

२३ दिनदेखि पैदल हिँडेर काठमाण्डौ आएका मिटरब्याजपीडितले पनि आन्दोलन गरिरहेका छन् । भृकुटीमण्डपमा धर्नामा बसेका उनीहरू माग पूरा नभएसम्म घर नफर्कने अडानमा छन् ।  पीडितहरुले फर्जी तमसुक, दृष्टिबन्धक, चेक अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका माग गरेका छन् । यसबीचमा सरकारसँग दुईपटक वार्ता भए पनि सहमति हुन सकेको छैन । सरकारले मिटरब्याजपीडित जाँचबुझ आयोग बनाए पनि अझै समस्या समाधान हुन नसकेको उनीहरुको भनाइ छ ।

लघुुवित्तपीडितहरुले पनि झण्डै दुई हप्तादेखि काठमाण्डौमा आन्दोलनरत गरिरहेका छन् । गएको सोमवार उनीहरुले  नयाँ बानेश्वरको संसद् भवनभित्र पसेर प्रदर्शन गरे । प्रदर्शन गर्ने ४९ जनालाई प्रहरीले पक्राउ गरेकोमा हिजो रिहा गरेको छ ।  यही बीचमा सहकारीपीडित पनि काठमाण्डौ केन्द्रित आन्दोलनमा छन् । सरकारसँगको सहमति कार्यान्यवन नभएको भन्दै सहकारीपीडितले एक हप्तादेखि नयाँ बानेश्वरको सहकारी विभागमा धर्ना शुरु गरेका छन् ।

सडक प्रदर्शन बढिरहँदा सरकारले माग सम्बोधनको लागि प्रभावकारी काम गर्न सकेको छैन । प्रधानमन्त्री आफैँले लघुवित्त र मिटरब्याज पीडितसँग छलफल गरे पनि समस्या समाधान हुन सकेको छैन ।आफूहरुको माग सम्बोधन गर्न सरकार उदासीन भएको पीडितहरुको गुनासो छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया