नागरिक उन्मुक्ति पार्टीभित्र विवाद : सुदूरपश्चिम प्रदेशमा पार्टीबाट मन्त्री बनेकाहरु अप्ठेरोमा

 फागुन २७, २०८० आइतबार ८:११:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीबाट मन्त्री बनेकाहरु अप्ठेरोमा परेका छन् । मन्त्री रहिरहन दिने कि फिर्ता बोलाउने भनेर अध्यक्ष रञ्जिता चौधरी र नेता रेशम चौधरीबीच कुरा मिल्न सकेको छैन ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा रञ्जिता र रेशमको मतभेद छ । रेशमको निर्देशनअनुसार नागरिक उन्मुक्तिबाट शुक्रवार तीन मन्त्रीले शपथ लिएका थिए ।

तर, अध्यक्ष रञ्जिताले हिजो संसदीय दलका नेता घनश्याम चौधरीलाई फोन गरेर पार्टीबाट मन्त्रीहरू फिर्ता बोलाउन र सरकारको समर्थन फिर्ता लिन निर्देशन दिनुभएको छ ।

हिजो बुटवलमा पत्रकारसँगको कुराकानीमा रेशम चौधरीले सुदूरपश्चिम सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता नहुने बताउनुभएको छ  । नागरिक उन्मुक्तिबाट सुदूरपश्चिम प्रदेश सरकारमा धनश्याम चौधरी आर्थिक मामिलामन्त्री, खुसीराम डगौरा थारू विना विभागीय र इन्दिरा गिरी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त हुनुभएको छ  ।

उहाँहरुले शुक्रवार राति नै पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले थप मन्त्री दिएर नागरिक उन्मुक्तिको समर्थन कायम राख्दै बहुमत जुटाउने प्रयास गर्नुभएको छ ।

तर, अझै पनि बहुमत जुटिसकेको छैन । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सिट आवश्यक पर्छ  । सत्तापक्षमा अहिले कांग्रेसका १८ र नागरिक उन्मुक्तिका सात गरी २५ जना सदस्यको समर्थन छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया