काठमाण्डौ जोड्ने मुख्य सडकको यात्रा कष्टकर

 फागुन २८, २०८० सोमबार ९:२५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ जोड्ने मुख्य मार्ग नागढुङ्गा–मुग्लिन सडकखण्डको यात्रा कष्टकर हुने गरेको छ । सडक मर्मत र विस्तारको काम अव्यवस्थित ढङ्गले हुँदा यात्रु र चालकले हैरानी खेप्दै आएका छन् । धुलो, धुवाँ र जाम बढेको चालक र यात्रुको गुनासो छ ।

सडक विभागका अनुसार नागढुङ्गा–नौबिसे खण्डको १२ किलोमिटर, नैबिसे–मलेखुको ४३ किलोमिटर र मलेखु–मुग्लिनको ३८ किलोमिटरको विभिन्न खण्डमा एकैचोटी मर्मतको काम भैरहेको छ । सडकको छेउकुना खनेर फराकिलो बनाउने, पर्खाल लगाउने तथा रुख काट्ने काम भैरहेको हो ।

नागढुङ्गा–नौबिसे खण्डको ३५ प्रतिशत, नैबिसे–मलेखुको १५ प्रतिशत र मलेखु–मुग्लिन सडक खण्डको ५ प्रतिशत मात्रै काम सकिएको छ । त्यस्तै नागढुङ्गा भन्दा झण्ढै साढे ३ किलोमिटर अगाडि धादिङको सिस्ने खोला जोड्ने सुरुङमार्ग निर्माणको कामले समेत सडकमा खाल्डाखुल्डी परेको छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा नाका हुँदै औसतमा दैनिक ३ हजार ३ सय गाडी काठमाण्डौ भित्रिने र ३ हजार २ सय गाडी बाहिरिने गरेको तथ्यांक छ । यस्तै दैनिक ३० हजारभन्दा बढी यात्रु काठमाण्डौ प्रवेश गर्छन् भने त्यति नै सङ्ख्यामा बाहिरिने गर्छन् ।

राजमार्गको जीर्ण अवस्था, साँघुरो लेन, खाल्डाखुल्डी र धुलोले गाडीमा क्षति मात्रै नभइ यात्रुको सुरक्षामा पनि जोखिम बढाएको गाडी चालक तथा यात्रुको गुनासो छ । गाडी चालक र यात्रुले पाएको सास्तीलाई ध्यानमा राख्दै सडकको कामलाई तीव्रता दिइएको सडक विभागका सूचना अधिकारी अमित शर्माले बताउनु भयो ।

सडक मर्मत तथा निर्माणमा व्यवस्थित योजना बने पनि प्रक्रियागत समस्या भएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको उहाँको भनाइ छ । अबको १६ महिनामा सडकको काम सम्पन्न भैसक्ने पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया