चितवन राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरण गरिँदै

 फागुन २९, २०८० मंगलबार १८:२१:११ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा भोलि (बुधवार) देखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार आन्तरिक स्थानान्तरणका लागि सबै तयारी पूरा भइसकेको छ । गैँडा आन्तरिक स्थानान्तरण कार्यदलको आज (मङ्गलवार) बैठक बसेर भाेलिदेखि काम शुरु गरिने उहाँले बताउनुभयो । निकुञ्जकै हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षाका लागि खटिएको सेनालगायत जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरण गरिने उहाँको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । आठ वर्षभन्दा माथि र २० वर्षभन्दा मुनिका गैँडालाई स्थानान्तरण गरिने छ । बुधवार बिहान वनदेवीको पूजा गरेर गैँडा नियन्त्रणमा लिने काम शुरु गरिने छ । गैँडा स्थानान्तरणका लागि प्रमुख संरक्षण अधिकृतको नेतृत्वमा स्थलगत कार्यदल बनेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ 'इकोलोजिस्ट' श्याम शाहको नेतृत्वमा प्राविधिक टोली निकुञ्ज पुगेको छ । पुनका अनुसार विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएलका प्रतिनिधि निकुञ्जमा आएका छन् । गैँडा निकुञ्जको पश्चिम क्षेत्रको भित्री 'कोर' क्षेत्रमा र नवलपुरबाट पूर्वी क्षेत्रको भित्री भागमा स्थानान्तरण गरिने छ ।

निकुञ्जबाहिर बस्तीमा आएर दुःख दिएका गैँडालाई स्थानान्तरणमा प्राथमिकता दिइने छ । स्थानान्तरण गर्दा भालेपोथीको 'रेसियो' मिलाइने उहाँले जानकारी दिनुभयो । दुई वर्षअघि विभागले गैँडाको स्थानान्तरणका लागि उपमहानिर्देशक वेदकुमार ढकालको नेतृत्वमा अध्ययन टोली गठन गरी अध्ययन गरेको थियो ।

पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैँडा छन् जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् भने पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा छन् । विसं २०७४ मा बाढीका कारण धेरै गैँडा बगेर भारत पुगेका थिए । केही गैँडा उद्धार गरी फिर्ता ल्याए पनि अरू केही ल्याउन सकिएको थिएन ।

त्यही समयमा पूर्वका गैँडा बगेर पश्चिम पुगेका थिए । एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढ्ने गर्दछ । घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्वतर्फ लैजान लागिएको हो । निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाने तर बासस्थानको व्यवस्थापन सङ्ख्याका आधारमा गर्न नसक्दा समस्या देखिएको छ ।

वरिष्ठ इकोलोजिस्ट शाहले एकै ठाउँमा धेरै गैँडा भएकाले स्थानान्तरण गरी घनत्व मिलाउन लागिएको बताउनुभयो । एकै स्थानमा धेरै गैँडा हुँदा बासस्थान व्यवस्थापनमा समस्या आउने र वृद्धि दरमा कमी आउने भएकाले स्थानान्तरण गर्न लागिएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया