सुन तस्करी प्रकरणमा जोडिएका माओवादीका उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

 चैत ४, २०८० आइतबार १५:०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कानुनी कारबाही शुरु गर्न निर्देशन दिनुभएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर गृहमन्त्री लामिछानेले छानबिन आयोगको राय सिफारिसअनुसार महरालाई मुद्दा चलाउन र थप अनुसन्धान गरेर कानुनी कारबाही गर्न निर्देशन दिनुभएको हो ।

महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । तस्करसँग कैयौँ पटक कृष्णबहादुर महराले पनि टेलिफोनमा कुराकानी गरेको प्रमाण प्रहरीसँग सुरक्षित रहेको छ । प्रहरीले यसअघि महरासँग बयानसमेत लिएको थियो ।

यसैबीच गृहमन्त्री लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीसँग पनि बयान लिन सीआईबीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री लामिछानेले गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर जग्गा हिनामिनामा जुनसुकै तहका व्यक्ति मुछिए पनि कारबाही गर्न निर्देशन दिँदै विनोद चौधरीको पनि बयान लिन र छानबिन गर्न निर्देशन दिनुभएको हो ।

उपप्रधान एवम् गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको मातहत ल्याउने प्रक्रिया आजै शुरु गर्न पनि निर्देशन दिनुभएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा यसअघि विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेर छुट्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया