प्रविधिको विकास र विस्तारसँगै मौसम पूर्वानुमान प्रभावकारी बन्दै

 चैत १०, २०८० शनिबार १८:३०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रविधिमा भएको आधुनिकिकरणसँगै मौसम सम्बन्धी पूर्वानुमान सजिलो बन्दै गएको छ । प्रविधिका कारण धेरैजसो पूर्वानुमान मिल्ने गरेका मौसमविद्हरु बताउँछन् । नेपालमा पनि मौसम अवलोकन सम्बन्धी प्रविधिहरु विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को निर्देशिका अनुसार राख्ने गरेकोले पूर्वानुमान भरपर्दो हुँदै गएको जल तथ मौसम विज्ञान विभागकी निर्देशक विभुती पोखरेलले बताउनुभयो ।

प्रविधिको सहयोगले पूर्वानुमान वा तथ्याङ्क सङ्कलन प्रभावकारी हुने भए पनि नेपालमा पर्याप्त पूर्वाधार भने छैन । मौसम पूर्वानुमान महाशाखासँग तीनवटा राडार स्टेसन छन् । पाल्पा, सुर्खेत र उदयपुरमा राखिएका ती राडार बादलको अबस्था हेर्न प्रयोगमा आउँछन् ।

यस्तै काठमाण्डौको कीर्तिपुरबाट दैनिक बिहान एउटा बेलुन उडाएर तथ्याङ्क लिने काम हुन्छ । नेपालको भौगोलिक जटिलताका कारण भएको प्रविधिले ठाउँ विशेषको पूर्वानुमान हुन सक्दैन । प्रविधि महँगो भएकोले सबैतिर राख्न कठिन हुने निर्देशक पोखरेल बताउनुहुन्छ । मौसम पूर्वानुमान महाशाखाले विभिन्न स्याटेलाइट र विदेशी निकायका सूचनाहरुलाई पनि विश्लेषण गर्ने गरेको छ ।

यसैबीच आज विश्व मौसम विज्ञान दिवस मनाइँदैछ । विश्व मौसम सङ्गठनको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष मार्च २३ मा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घले यसवर्ष मौसम विज्ञान दिवसको नारा ‘जलवायु कार्यको अग्रपङ्तिमा’ भन्ने तय गरेको छ । विश्वव्यापी जलवायु परिवर्तनको असर बढिरहेकोले केही वर्षदेखि मौसमका विषयलाई जलवायु परिवर्तनको प्रभावसँग बढी जोड्न थालिएको छ ।

अघिल्लो वर्ष दिवसको नारा मौसम र जलवायुको आउँदा पुस्तामा पर्ने प्रभाव भन्ने थियो भने सन् २०२२ मा चेतावनीको शुरुवात भन्ने थियो । जलवायु परिवर्तनले मौसमी चक्रलाई नै बिथोल्न थालेकोले त्यही अनुसार अनुकूलनताका तयारी हुनुपर्ने विज्ञहरु बताउँछन् ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया