‘होली मनाउँदा स्वास्थ्य, सम्भावित दुर्घटना र सामाजिक मर्यादाबारे ख्याल गरौँ’

 चैत ११, २०८० आइतबार ७:१०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने होली रङ्ग र खुशीको पर्व हो । एक अर्कालाई रङ्ग दलेर, नाचगान र खानपिन गरेर मनाइने भएकोले यो पर्वमा खुशी, उमङ्ग र सद्भाव पाइन्छ । होली मनाउनेहरुले यसलाई धार्मिक र साँस्कृतिकसँगै मनोरञ्जनको पर्वको रुपमा पनि लिन्छन् । साथीभाइ, आफन्त र प्रियजनहरुसँग रङ्गीन रमाइलो हुने यो पर्व मनाउँदा खुशीका बीच समस्या नआओस भनेर सावधानी पनि अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ । होली मनाउँदा मुख्य गरी स्वास्थ्य, संभावित दुर्घटना र सामाजिक मर्यादा गरी तीनवटा कुरामा विशेष ख्याल गर्नुपर्ने हुन्छ । 

स्वास्थ्य सावधानी
होलीमा रङ्ग र पानीको प्रयोग धेरै हुन्छ । बजारमा थरीथरीका रङ्गहरु उपलब्ध छन् । त्यस्ता रङ्गमा केमिकल हुने भएकोले केहीलाई छालामा एलर्जी पनि हुन सक्छ । कसैमा सामान्य र कसैमा गम्भीर खालको एलर्जी समेत हुन सक्ने जनस्वास्थ्यविद् डा.शरद वन्त बताउनुहुन्छ ।

त्यस्तै धुलो रङ्गले कतिपयलाई फोक्सोमा समेत असर गर्न सक्छ । यस्तै रङ्ग खेल्दा आँखामा पर्न तर्फ सचेत हुनुपर्छ । आँखामा रङ्ग पर्दा त्यसलाई आँखालाई असर गर्न सक्छ । यस्तै होली मनाउँदा भीडभाड धेरै हुन सक्छ । भीडमा कतिपय संक्रामक रोगहरु सर्न पनि सक्छन् । त्यसैले भीडभाडमा होली मनाउँदा सम्भव भएसम्म कालोचस्मा र मास्क लगाउनुपर्ने डाक्टरहरुको सुझाव छ । यस्तै कतिपलाई भीडभाडमा नाचगान गर्दा ह्दयघात लगायतका सम्भावना पनि हुने भएकोले आफ्नो स्वास्थ्य अबस्थाबारे सचेत हुनुपर्छ । 
सम्भावित दुर्घटना 
रमाइलो गर्दै गर्दा कतिपय जोखिमहरुलाई अनुमान् नगरिएको वा बेवास्ता गरिएको पनि हुन सक्छ । होली खेल्दा घरका छतबाट लडेका, गाडी दुर्घटना भएका, चिप्लिएर लडेका आपसमा झैझगडा भएर घाइते भएका वा ज्यानै गएका जस्ता खबर हामीले सुन्दै आएका छौं । त्यसैले सम्भावित दुर्घटनाबारे ख्याल गर्न जनस्वास्थ्यविद् वन्तको सुझाव छ ।

दुर्घटना रोक्नको लागि आफू कस्तो ठाउँमा होली मनाइरहेको छु भन्ने ख्याल गर्नुपर्छ । जाँडरक्सी खाएर वा जथाभावी गाडी चलाउनु हुँदैन । सँधै आफ्नो सुरक्षालाई पहिलो प्राथामिकतामा राखेर रमाइलो गर्नुपर्छ । रमाइलो गर्दै गर्दा हुन सक्ने जोखिमलाई कहिल्यै भुल्नु हुन्न ।
सामाजिक मर्यादा 
होली पर्व मनाउँदा ख्याल गर्नुपर्ने महत्वपूर्ण कुरा सामाजिक मर्यादा हो । एक जनालाई मन पर्ने कुरा अर्कोलाई मन नपर्न सक्छ । वा विविधता भएको समाजमा एउटा समुदायले मनाउने पर्व अर्कोले नमनाउन पनि सक्छ । वा त्यही रङ्गलाई पनि एउटा धर्म वा समुदायले एक किसिमबाट परिभाषित गर्छ भने अर्कोले अर्कै किसिमबाट गरेको हुन्छ ।

त्यसैले रङ्ग दल्दा, लोला हान्दा वा रमाइलो गर्दा सामाजिक मर्यादालाई ख्याल गर्नुपर्ने सामाजिक मनोभावका बारेमा समेत पैरवी गर्दै आउनुभएका जनस्वास्थ्यविद् शरद वन्त बताउनुहुन्छ ।

होली खेल्न सबैलाई मन नपर्न सक्छ । त्यसैले जबर्जस्ती गर्नुहुन्न । यस्तै रमाइलोमा लैगिक हिंसा, फरक संस्कृति भएका समुदायमाथि नकरात्मक भाव, जाँडरक्सी खाएर होहल्ला लगायतका कुरा पनि हुन्छन् कि भन्नेतर्फ समेत हुनुपर्छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया