बेगनास तालमा राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता शुरु

 चैत १२, २०८० सोमबार ९:४१:५० | रासस
unn.prixa.net

कास्की – पर्यटन राजधानी पोखराको बेगनास तालमा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस प्रतियोगिता शुरु भएको छ । पोखरा महानगरपालिका–३१ स्थित तालमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा महानगरपालिकाको आयोजना एवम् नेपाल ड्रागन बोट सङ्घ गण्डकी प्रदेश र होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको सह–आयोजनामा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस आयोजना गरिएको हो । देशका विभिन्न ठाउँबाट १४ वटा समूहको सहभागिता रहेको प्रतियोगिता आजसम्म चल्नेछ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै खेल क्षेत्रलाई पर्यटनसँग जोड्दै अघि बढ्नुपर्ने बताउनुुभयो । खेलकुदमा राजनीति हुन नहुने उल्लेख गर्दै उहाँले त्यसलाई रोक्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो । खेलकुद पछिल्लो समय कूटनीतिक सम्बन्ध विस्तारको माध्यमसमेत बनेको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले बेगनास तालमा गरिएको यस प्रतियोगिताले यहाँको पर्यटकीय विकासका लागि विशिष्ट योगदान पुर्‍याउने बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेलले बेगनास ताललाई पर्यटकीय रुपमा उपयोग, पर्यटकीय गतिविधि विस्तारका साथै स्थानको विविधीकरणका लागि प्रतियोगिता महत्वपूर्ण बन्ने विश्वास लिइएको बताउनुभयो ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष विरभद्र कँडेलले पोखरा महानगरपलिका तथा गण्डकी प्रदेशमा पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । प्रतियोगिताअन्तर्गत पाँच सय र दुई सय मिटर गरी दुई समूहका खेल आयोजना गरिएको छ ।

प्रतियोगिताको दुई सय मिटरमा प्रथम हुँदै नारा पोखराले एक लाख, दोस्रो बन्दै वाटर स्पोटर्स एसोसिएसनले ५० हजार र तेस्रो बन्दै हर्पन मत्स्य समूहले २५ हजार नगद जितेका छन् । पाँच सय मिटरतर्फ प्रथम हुनेले दुई लाख, दोस्रोले एक लाख ५० हजार र तेस्रो बन्नेले ७५ हजार नगद पाउने आयोजकले जनाएको छ । पाँच सय मिटरका खेल आज हुनेछ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया