झलनाथ खनाल

प्रतिनिधिसभा सदस्य
इलाम-१

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
७२
प्राप्त मत
२३०८९
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
बिएस्सी र बिए

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल सातौँ पटक इलाम १ बाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । २०४८, २०५१, २०६४, २०७०, २०७४ सालमा गरी पाँच पटक यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका खनाल २०५६ सालमा भने कांग्रेसका बेनुप प्रसाईसँग ७० मतको अन्तरमा पराजित हुनु भएको थियो ।


नेकपा एमालेका पूर्वअध्यक्षसमेत रहनु भएका खनालको जन्म २००६ साल चैत ६ गते साँखेजुङ्ग–४, इलाममा भएको हो । खनालले बिएस्सी र बिएसम्मको अध्ययन गर्नुभएको छ ।
खनाल २०६७ माघ २० गतेदेखि २०६८ भदौ १२ गतेसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो ।


अनेरास्वयवियूबाट राजनीति सुरु गरेका खनाल तत्कालीन नेकपा (माले)को पोलिटव्यूरो सदस्य हुँदै महासचिव समेत हुनुभयो । २०४७ सालमा तत्कालीन नेकपा (माले) र नेकपा   (माक्र्सवादी) एकीकरण भइ बनेको नेकपा एमालेको स्थायी सदस्य हुँदै खनाल २०६६ सालमा बुटवलमा भएको महाधिवेशनपछि नेकपा एमालेको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । अहिले भने खनाल नेकपा एमाले विभाजन भएपछि बनेको नेकपा एकीकृत समाजवादीको सम्मानित नेता हुनुहुन्छ । 
खनालले एकवर्ष बाग्लुङ्गको गल्कोट माविमा शिक्षण समेत गर्नुभएको थियो । पढाउँदा पढाउँदै राजनीति गरेको आरोपमा उहाँ पक्राउ पर्नुभएको थियो । पछि इलाम पुगेर पञ्चायती व्यवस्थाको विरुद्धमा आन्दोलन गरेको बेला पनि उहाँ पक्राउ पर्नुभयो र १४ महिना जेल बस्नुभयो ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनमा वाममोर्चाको उच्चस्तरीय नेता रहेका खनाल प्रजातन्त्र प्राप्तिपछि बनेको अन्तरिम सरकारमा कृषि, भूमिसुधार र वन तथा वातावरण मन्त्री हुनुहुन्थ्यो ।

पार्टी अध्यक्ष हुँदा खनालले आफ्नै पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारलाई समेत असहयोग गरेको र आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयत्न गरेको आरोप छ । उहाँ छिमेकी देश भारतले नरुचाएका नेताका रुपमा परिचित हुनुहुन्छ । उहाँलाई प्रधानमन्त्री हुँदा भारतले भ्रमणको निम्तो समेत दिएको थिएन ।

साहित्यमा पनि रुची राख्ने खनाल अभिमन्यूको नामबाट लेख लेख्नुहुन्छ । माक्र्सवादी साहित्य अध्ययनमा विशेष रुची राख्ने खनालका १० वटा भन्दा धेरै पुस्तक प्रकाशित छन् ।