माधव कुमार नेपाल

प्रतिनिधिसभा सदस्य
रौतहट-१

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६९
प्राप्त मत
३३५२२
लिङ्ग
पुरुष
हालको पद
अध्यक्ष, नेकपा एकीकृत समाजवादी
शैक्षिक योग्यता
विज्ञान संकायबाट स्नातक

२०६६ साल जेठ ९ गते नेकपा एमालेको तर्फबाट प्रधानमन्त्री हुनु भएका माधवकुमार नेपालले २०७८ साल भदौ २ गते एमालेबाट छुट्टिएर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता गराउनु भएको छ । उहाँ नेकपा एकीकृत समाजवादीका अध्यक्ष हुनुहुन्छ ।  
उहाँको जन्म विस २००९ साल फागुन २३ गते रौतहटको गौर ३ मा भएको हो । बुबा मंगलकुमार उपाध्याय नेपाल र आमा दुर्गादेवीबाट जन्मेका माधवकुमार नेपालका एक छोरी र एक छोरा छन् । उहाँले विज्ञान संकायबाट स्नातक तह उत्तीर्ण गर्नुभएको छ ।
नेपालले आफ्नो राजनीतिक यात्रा २०२६ सालदेखि सुरु गर्नु भएको हो । नेपाल २०३५ सालमा नेकपा मालेको संस्थापक पोलिटव्यूरो सदस्य, २०४६ सालमा संयुक्त वाम मोर्चा सदस्य, २०४७ सालमा नेकपा एमालेको पोलिटव्यूरो सदस्य बन्नु भएको थियो ।
२०५० सालमा नेकपा एमालेका विदेश विभाग प्रमुख भएका नेपाल २०५१ देखि ०५२ सम्म मनमोहन अधिकारी नेतृत्वको एमालेको ९ महिले सरकारका बेला उपप्रधानमन्त्री तथा रक्षा र पराराष्ट्र मन्त्री हुनुहुन्थ्यो । प्रथम पटक उहाँ राष्ट्रियसभाका सदस्य हुँदै विपक्षी दलका नेता पनि बन्नुभयो ।
२०५६ सालमा प्रतिनिधिसभा सदस्य तथा विपक्षी दलको नेता भएका नेपाल ०५४ सालमा भएको नेकपा एमालेको छैठौँ महाधिवेशनबाट महासचिव हुनुभएको थियो । उहाँ ०५९ मा भएको सातौँ महाधिवेशनबाट पुन: महासचिव नै हुनुभयो । २०६४ सालमा भएको संविधानसभा चुनावमा दुई ठाउँबाट पराजित भएपछि र नेकपा एमाले तेश्रो स्थानमा रहेपछि नैतिकताको आधार बताउँदै नेपालले महासचिवबाट राजीनामा दिनुभयो ।
२०६४ सालको संविधानसभा चुनावमा उहाँ काठमाडौं क्षेत्र नम्बर २ बाट एकीकृत नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र रौतहट क्षेत्र नम्बर ६ बाट एकीकृत नेकपा माओवादीकै देवेन्द्र पटेलसँग पराजित हुनुभएको थियो । पछि उहाँलाई मन्त्रिपरिषदले संविधानसभामा सदस्यमा मनोनित गरेको थियो । नेपालले संविधानसभामा संवैधानिक समितिको सदस्य भएर काम गर्नुभएको थियो ।
त्यस्तै उहाँ २०७० सालको दोस्रो संविधानसभाको चुनावमा भने काठमाण्डौ २ र रौतहट १ दुवै ठाउँमा विजयी हुनुभएको थियो । २०७४ सालको चुनावमा काठमाण्डौ क्षेत्र नम्बर २ बाट २७ हजार ३६६ मत ल्याएर विजयी हुनुभयो । उहाँले राजनीति गर्ने क्रममा पटक–पटक गरी झण्डै १५ वर्ष भूमिगत जीवन बिताउनु भएको छ ।