नेपाली कांग्रेसका केन्द्रीय सदस्य संजयकुमार गौतमको जन्म वि.सं २०२० साल वैशाख १३ गते नेपालगञ्जको घरबारी टोलमा भएको हो । लक्ष्मीप्रसाद मावि गुलरियाबाट एसएलसी पास गरेका गौतमले राजनीतिशास्त्रमा स्नातक गर्नुभएको छ ।
गौतमले २०३६/०३७ सालको आन्दोलनसँगै नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नुभयो । पार्टीको गाउँ सचिव, क्षेत्रीय सचिव, जिल्लाको सह–सचिव, सचिव हुँदै गौतम पार्टीको जिल्ला सभापति हुनुभयो । सह–सचिव र सचिव गरेर सात वर्ष काम गरेका गौतम बर्दिया कांग्रेसको सभापति पनि हुनुभयो ।
पार्टी विभाजनका बेला संस्थापन पक्षमा रहेर सभापति भएका गौतम एकतापछि सर्वसम्मतिले सभापति हुनुभयो । २०३६/०३७ सालको आन्दोलनका बेला तीन महिनासम्म भद्रगोल जेलमा बिताएका गौतम २०६२/०६३ को आन्दोलनका क्रममा पनि तीन महिना जेल पर्नुभएको थियो ।
०४९ सालमा वडाध्यक्ष भएर जिल्ला विकास समितिको उपसभापति लडेका गौतम पाँच भोटले पराजित हुनुभएको थियो । गौतम यसअघि पनि ०६४ सालमा उम्मेदवार बनेर पराजित हुनुभएको थियो । तर २०७० सालको चुनावमा भने भने उहाँ ११ हजार ६ सय मत सहित विजयी हुनुभयो । २०७४ सालको संसदीय चुनावमा उहाँ बर्दिया क्षेत्र नम्बर १ बाट विजयी हुनु भएको थियो । उहाँले सिँचाई मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो ।