शेर बहादुर देउवा

प्रतिनिधिसभा सदस्य
डडेल्धुरा

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
७७
प्राप्त मत
२५५३४
लिङ्ग
पुरुष
हालको पद
सभापति, नेपाली कांग्रेस
शैक्षिक योग्यता
राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस— ५ मटेला, रुवाखोलामा जन्मिनुभएको हो । देउवा बुबा श्रीप्रसाद र आमा द्रोपदीदेवीका जेठा छोरा हुनुहुन्छ ।
कक्षा ८ कक्षासम्म डडेल्धुराको महेन्द्र माविमा पढेका देउवाले त्यसपछि डोटीमा कक्षा ९ र १० सम्म पढ्नुभयो । उहाँले २०१९ सालमा एसएलसी पास गर्नुभयो । एसएलसीपछिको पढाई काठमाण्डौमा गर्नुभएका देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक तह पूरा गर्नुभएको छ ।


उहाँ २०१७ सालदेखि राजनीतिमा लाग्नुभएको हो । २०३६ सालको आन्दोलन र जनमत संग्रहमा पनि उहाँ सक्रियतापूर्वक लाग्नुभयो । देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्र्थी संघको पहिलो निर्वाचित अध्यक्ष हुनुहुन्छ । २०४६ सालको जनआन्दोलनमा देउवा युवा नेताका रुपमा चर्चित हुनुभयो ।
२०४६ मा चुलिएको देउवाको चर्चा २०४८ सालको आम चुनावमा पनि देखियो । २०४८ सालको आमचुनावमा देउवा डडेल्धुराबाट विजयी हुनुभयो । त्यसपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उहाँ २०४८ सालमा गृहमन्त्री हुनुभयो । देउवाले २०५१ र २०५६ सालको संसदीय चुनाव, २०६४ र २०७० सालको संविधानसभा चुनाव तथा २०७४ सालको संसदीय चुनावमा डडेल्धुराबाट जित्नुभयो ।


पार्टीभित्रको अन्तरसंघर्ष चर्किएपछि देउवाले २०५९ सालमा कांग्रेस पार्टी फुटाएर नेपाली नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्नुभयो र त्यसको सभापति हुनुभयो । २०६४ सालमा फेरि कांग्रेस एक भयो । पार्टी एक भएपछि कांग्रेसको नेतृत्वको आकांक्षी रहे पनि उहाँ सुशील कोइरालासँग पराजित हुनुभयो । २०७२ फागुनमा भने रामचन्द्र पौडेललाई हराएर देउवा कांग्रेसको सभापति बन्नुभयो । २०७८ सालमा भएको कांग्रेसको १४ महाधिवेशनबाट शेखर कोइरालालाई हराएर उहाँ फेरि कांग्रेसको सभापति बन्नु भएको हो । 
देउवा ५ पटक प्रधानमन्त्री भैसक्नुभएको छ । २०५२ साल भदौ २६ गते देउवा राप्रपा लगायत दलसँगको सहकार्यमा पहिलोपटक प्रधानमन्त्रीका रुपमा डेब्यु गर्नुभयो । २०५३ साल फागुन २६ गते प्रधानमन्त्रीबाट हटेका देउवा २०५८ साल साउन ७ गते दोश्रो पटक प्रधानमन्त्री बन्नुभयो । तेस्रोपटक ०६१ साल जेठ २१ गते प्रधानमन्त्री बन्नुभयो ।


यस्तै २०७४ सालको जेठ २३ गते माओवादीको समर्थनमा देउवा चौथोपटक प्रधानमन्त्री हुनुभयो । २०७८ जेठ ७ मा केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलले प्रतिनिधि सभा बिघटनका लागि सिफारिस गरेपछि १ सय ४९ सांसदले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनेर सर्वोच्च अदालतमा रिट दायर गरे । त्यसपछि सर्वोच्चको परमादेशअनुसार २०७८ असार २९ गते देउवा पाँचौं पटक प्रधानमन्त्री बन्नुभयो । 
देउवा यसपटक पनि डडेल्धुरा १ बाट नै उम्मेदवार हुनुहुन्छ । यसअघिका सबै चुनाव जित्नु भएका देउवाले २०७४ को चुनावमा माओवादी नेता खगराज भट्टलाई हराउनु भएको थियो ।