२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : सी जिनपिङ शनिबार दिउँसो आउँदै

 असोज २५, २०७६ शनिबार ६:३१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ शनिबार दिउँसो दुई दिवसीय राजकीय भ्रमणमा नेपाल आउँदै हुनुहुन्छ ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो । दुई दशकपछि चिनियाँ उच्च तहबाट हुन लागेको भ्रमणलाई नेपालले विशेष महत्व दिएको छ । यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गर्नु भएको थियो ।

शनिबार काठमाण्डौमा विशेष विमानबाट अवतरण गरेपछि केही क्षणको विश्रामपछि चिनियाँ विशिष्ट पाहुनाले आफ्ना नेपाली समकक्षी श्रीमती भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा शनिबार नै राजकीय भोजको आयोजना गर्नुहुने कार्यक्रम छ । शनिबार साँझ नै राष्ट्रपति सीसँग प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले शिष्टाचार भेट गर्नुहुनेछ ।

आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

यस्तो छ चिनियाँ राष्ट्रपति सीको १९ घण्टे भ्रमण तालिका

शनिबार

दिउँसो ४ः३० बजे – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
साँझ ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता
साँझ ७ः३० बजे राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना

आइतबार

बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर
दिउँसो १२ः३० बजे स्वदेश फिर्ता 

सम्बन्धित समाचार


अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया