छोरो १२ वर्षदेखि मलेसियामा बेपत्ता, रोकिँदैन आमाको आँसु

 असार १४, २०७५ बिहिबार | अर्जुन श्रेष्ठ

धादिङ – ‘छोरालाई परदेश होइन पर देश पठाएको रहेछु । आमाको काख भन्दा अर्काे कस्तो संसार भेट्यो मेरो छोराले’ सन्तमाया तामाङ भन्नुहुन्छ ‘१२ वर्षमा खोली फर्कन्छ भन्छन् खै मेरो छोरा फर्केन हजुर, खोजिदिनुस् न’ 

धादिङको निलकण्ठ नगरपालिका १४ का डम्मरबहादुर तामाङ २०६२ सालमा मलेसिया जानुभएको थियो । छोरा कुन म्यानपावरबाट विदेश उडे सन्तमायालाई पत्तो छैन । छोरालाई पठाउन साहुसँग १ लाख २० हजार रुपैयाँ ऋण लिएको मात्रै याद छ ।

धेरै पैसा कमाएर परिवारमा खुशीको उज्यालो छर्ने आश दिएर गएका डम्मरले १/२ पटक मात्र आमालाई पैसा पठाउनुभयो । त्यसपछि बेपत्ता हुनुभयो । झण्डै ४ वर्षसम्म फोन र चिठीमाकुरा हुन्थ्यो । सन्तमाया भन्नुहुन्छ ‘फोनमा कुरा गर्न धादिङबेशी बोलाउँथ्यो ।

महिनामा एक पटक कुरा गर्थेँ ।’ तर ५ वर्षपछि छोरासँगै चिठ्ठी र फोन आउन छोड्यो । विदेश उडेदेखि छोराको अनुहार कस्तो भयो उहाँले देख्न पाउनुभएको छैन ।

सन्तमाया ७५ वर्षकी हुनुभयो । छोरासँग कुरा गर्न चर्काे घाममा धादिङबेशी झरेको याद ताजै छ । अहिले गाउँघरमै मोबाइल आयो तर छोराको फोन आएन । छोरासँग कुरा गर्न नपाउँदा धादिङबेशी मात्र होइन मलेसिया पुगौं जस्तो भएको छ । ‘मलेसियामा त ठूलो शहर छ रे । न मेरो छोरो हरायो । न कसैले केहि गरिदियो’ आत्तिदै उहाँले सुनाउनुभयो ।

छोरा खोजिदिन्छु भन्दै सन्तमायासम्म पुग्नेहरु पनि छन् । तर आजसम्म छोरो यहाँ यस्तो अवस्थामा छ भनेर खबर ल्याउने चाहिँ कोहि भएन । त्यसैले छोराका बारेमा सोध्नेहरु पुग्दा सन्तमायालाई घाउमा नुन छरे जस्तै हुन्छ । 

छोरालाई नभेटि मरिन्छ कि भन्ने उहाँलाई ठूलो चिन्ता छ । तर भेट्नेहरुले खबर पुर्याइदिन्छन भन्ने आशा मरेको छैन । ‘यो आमाको आँसु पुछ्न तिमी आउँदैनौ ? तिमीलाई नहेरी, नभेटी, अनि तिम्रो हातको पानी, तिम्रो हातकै सिरानी नराखी म मरेँ भनें’ सन्तमाया भन्नुहुन्छ ‘म तिम्लाई पर्खिरहेको छु । तिम्रो बाटो हेरेरै दिन अनि रात वित्छ छोरा, चाँडै आउ है ।’  

मलेसिया जाने बेलामा डम्मरले आमा आफ्नो ख्याल गर्नु, बेलैमा खानेकुरा खानु, म पैसा पठाउँछु । धेरै दुःख गर्नुभयो मेरा लागि । अब म तपाईंलाई सुखमा राख्छु भनेर हिँड्नुभएको थियो । 

जहाँ भए पनि यस्तो छ भन्ने थाहा भएको भए कम्तिमा मन बुझाउने बाटो त हुन्थ्यो, आशको भावसँगै उहाँले बताउनुभयो । छोरालाई भेट्ने रहर, कि छोराकै भर कि भगवान भरोसा हो । तैपनि छोरालाई नभेटी भगवानले लैजादैन भन्ने आश छ लामो सास फेर्दै उहाँले भन्नुभयो । 

उमेरले डाँडो काट्दै छ । छोरालाई विदेश पठाउँदा लागेको ऋणको भारी अनि बुढेसकालको सहारा छोरा हराएको पीरले सन्तमाया थलिदै जानुभएको छ । त्यति विदेश पठाउँदा लिएको ऋण तिर्न सक्नुभएको छैन । पैसा माग्न आउने साहुलाई दिने जवाफ पनि छैन सन्तमायासँग । 

‘आफूसँग पीर र चिन्ता मात्रै छ यो बेच्न मिल्दैन, मसँग अरु केही छैन ।’ सन्तमाया सुनाउनुहुन्छ ‘न साहुसँग लिएको ऋण फिर्ता दिन सकें, न विदेश गएको छोरो नै आयो । 

छोरो विदेश जाँदा सुखसँग बाँच्ने सपना देख्नुभएको थियो सन्तमायाले ।  तर आज त्यही छोराको यादले सपना देख्ने गरी सुत्न सक्नुभएको छैन । त्यसैले उहाँ मलेसियामा हराएको छोरालाई खोजिदिन सबैलाई अनुरोध गरिरहनुभएको छ । 

अर्जुन श्रेष्ठ

रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया