इजरायलले गाजामा आक्रमण थालेको ६ महिना पूरा, ३३ हजार जनाभन्दा धेरैको ज्यान गयो

 चैत २५, २०८० आइतबार १८:२९:३९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

इजरायल र प्यालेस्टिनकाे हमास समूहबीच लडाइ शुरु भएको आज छ महिना पूरा भएको छ । गएको अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाभन्दा धेरैको ज्यान गएको थियो । हमासले दुई सय ५३ जनालाई बन्धक बनाएर लगेको थियो । उनीहरूमध्ये एक सय २४ जना रिहा भएका छन् । बाँकी १४ जनाको शव भेटिएको छ भने अरूको अवस्था थाहा हुन सकेको छैन ।

त्यसको जवाफमा इजरायलले गरेको आक्रमणमा गाजामा ३३ हजार एक सय ७५ जना प्यालेस्टिनीकाे ज्यान गएको छ । मारिनेमा धेरैजसो बालबालिका र महिला रहेका छन् । गाजा शहर ध्वस्त भएको छ । २० लाख जनाभन्दा धेरै घरबारविहीन भएका छन् । अस्पतालमा समेत इजरायलले बमबारी गरेर सेवा बन्द गराएको छ । मानवीय सहायताका सामग्री पुर्‍याउन नदिँदा कैयाैँ मानिस भोकभोकै मरिरहेका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

केही दिनअघि मात्रै अन्तर्राष्ट्रिय स्वयंसेवकको टोलीमाथि इजरायली हमला हुँदा छ जनाको ज्यान गएको थियो । त्यसपछि इजरायलको चर्को आलोचना भइरहेको छ । इजरायलले माफी मागेको छ । हमाससँगको बदला लिन सर्वसाधारणमाथि आक्रमण गरेर हत्या गरिरहेको भन्दै इजरायल सरकार र त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको चर्को आलोचना हुन थालेको छ ।

विना सर्त इजरायलाई समर्थन गरिरहेका अमेरिका र बेलायतलगायतका देशले पनि गाजामा युद्धविरामका लागि इजरायललाई दबाब दिन थालेका छन् । संयुक्त राष्ट्र सङ्घ अन्तर्गतका सबैजसो निकायले इजरायले गाजामा युद्ध लडेको नभइ एकतर्फी आक्रमण मात्रै गरिरहेको बताइरहेका छन् ।

हमाससँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै गए राति इजरायलमा विशाल प्रदर्शन भएको छ । इजरायली सेनाले एकपछि अर्को बन्धकको शव फेला पारेपछि इजरायलको राजधानीसहित मुख्य शहरमा दशौँ हजार जनाले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । नोभेम्बरमा एक हप्ताको युद्धविरामपछि पुनः शुरु भएको वार्तामा कुनै प्रगति भएको छैन ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया