नयाँ वर्षको स्वागतमा ठाउँठाउँमा महोत्सव र साँस्कृतिक कार्यक्रम

 चैत ३०, २०८० शुक्रबार ९:३३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – भोलिदेखि शुरु हुने विक्रम संवत २०८१ को नयाँ वर्षको अवसरमा विभिन्न ठाउँमा महोत्सव र साँस्कृतिक कार्यक्रम हुँदैछन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उदेश्यले यस्ता कार्यक्रम आयोजना गरिएका हुन् । पर्यटकीय ठाउँमा रहेका होटलहरुले नयाँ वर्षको अवसरमा विभिन्न किसिमका छुटको अफर पनि ल्याएका छन् ।

पर्यटन राजधानी पोखरामा हिजोदेखि १९ औँ फेवा नवमहोत्सव शुरु भएको छ । ‘पर्यटन संस्कृति र खाना’ नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले होटल सङ्घ पोखरा च्याप्टरले महोत्सव आयोजना गरेको हो । भोलिसम्म चल्ने महोत्सवको अवसरमा संघ मातहतका होटलको प्रकाशित दररेटमा ३० प्रतिशतसम्म छुटको घोषणा गरिएको होटल सङ्घ पोखराले जनाएको छ ।

महोत्सवबाट होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन मद्दत पुग्ने व्यवसायीहरुले विश्वास लिएका छन् । फेवाताल किनारको ड्यामसाइड चोकदेखि खहरे चोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव शुरु भएको हो । महोत्सवको आन्तरिक तथा बाह्य गरी तीन लाख पर्यटकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

अर्को पर्यटकीय गन्तव्य चितवनको सौराहामा नयाँ वर्षमा पर्यटकलाई आकर्षित गर्न विभिन्न सांस्कृतिक तथा कन्सर्ट कार्यक्रम हुँदैछ । रेबान र हानको समन्वयमा सौराहामा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै कार्यक्रम गर्न लागिएको हो । १ सय ५० वटाभन्दा बढी होटल रहेको सौराहामा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।

काठमाण्डौ, ललितपुर, भक्तपुर, लुम्बिनी लगायतका अरु पर्यटकीय ठाउँमा पनि नयाँ वर्ष लक्षित विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । नयाँ वर्षकै अवसर पारेर काठमाण्डौको ठमेल र दरबारमार्ग क्षेत्र भोलिदेखि चौबीसै घण्टा खुलाउने तयारी छ । ठमेलको भगवानबहाल क्षेत्रबाहेक अरु क्षेत्र भोलिदेखि चौबीसै घण्टा खुल्ने भएको हो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया