काम नगरे हटाइदिन्छु भन्दा होटेल मालिकका छोराको हत्या

 मंसिर १३, २०७५ बिहिबार १७:३४:१२ | उज्यालो सहकर्मी

काठमाडौं – काठमाडौंको गोंगबुबाट दुई दिनअघि बेपत्ता भएका ८ वर्षीय बालक प्रयास कुँवरको सोही दिन हत्या भएको खुलेको छ ।  

बालकका बुवाले सञ्चालन गर्ने स्वस्तिका त्रिवेणी गेस्ट हाउसमा चालकको रुपमा काम गर्ने कामदारले नै बालकको हत्या गरेको खुलेको छ ।  

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका स्याङ्जाका महेन्द्र सार्कीले बालक अपहरण गरेर त्यही दिन हत्या गरेको स्वीकार गरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो । 

मृतकका बुवा प्रविण कुँवरले स्वस्तिका त्रिवेणी गेस्ट हाउस सञ्चालन गर्दै आएका छन् । गेस्ट हाउसमा एक महिनाअघि मात्रै चालकको रुपमा काम गर्न थालेका सार्कीले बालकको हत्या गरेको खुलेको महाशाखा प्रमुख सिंहले बताउनुभयो । 

काम राम्रोसँग नगरेको भन्दै हटाइदिन्छु भनेर मालिकले धम्की दिएकाले आफूले बालकको अपहरण गरेर हत्या गरेको सार्कीले प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ । यद्यपि घटनाबारे अनुसन्धान भइरहेको सिंहले बताउनुभयो । 

मंगलबार साँझ बालकलाई फकाएर अपहरण गरेर लगेको र त्यसै दिन बालकको हत्या गरी म्हेपीको पुलमुनि बोरामा प्याक गरेर शव फालेको प्रहरीसमक्ष सार्कीले बयान दिएका छन् ।  

दिउँसो गेस्ट हाउसकै कम्पाउण्डमा खेलिरहेको बालक साँझ नभेटिएपछि परिवारले खोजतलासका लागि महानगरीय प्रहरी प्रभाव गोंगबुमा निवेदन दिएका थिए । 
प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेसनल स्कुलमा कक्षा १ मा अध्ययनरत थिए ।  

महानगरीय अपराध महाशाखाका प्रमुख सिंहका अनुसार फेला परेको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । 

घटनामा अन्यको संलग्नता रहे नरहेका बारे थप अनुसन्धान भइरहेको पनि सिंहले बताउनुभयो ।  

काठमाडौंमा बालकको अपहरणपछि हत्या, एक जना पक्राउ

 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया