सिण्डिकेट तोडिएपछि यातायात क्षेत्र सुधार भयो : मन्त्री थापा

 मंसिर २२, २०७५ शनिबार १५:४९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले व्यवसायिक हित र समृद्धिको लागि सरकारले यातायात क्षेत्रको सिण्डिकेट तोड्ने काम गरेको बताउनुभएको छ ।

नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री थापाले केही व्यक्तिमा मात्रै सीमित रहेको यातायात व्यवसायलाई सबैको पहुँचमा पुर्याउने काम सरकारले गरेको बताउनुभएको हो ।

यातायात क्षेत्रमा आउने सबैको हितका लागि सिण्डिकेट तोडिनु अत्यावश्यक रहेको भन्दै उहाँले सिण्डिकेटको अन्त्यसँगै यातायात व्यवसाय व्यवसायिक रुपमा अघि बढेको मन्त्री थापाको भनाई थियो ।

गृहमन्त्री थापाले लामो समयदेखि केही व्यक्तिले यातायात व्यवसायमा एकाधिकार कायम गरी एकलौटी रुपमा शोषण गर्दै आफू मात्रै समृद्ध हुने गरेको र त्यस्तो पद्धतिलाई नीति निर्माता र प्रशासकले पनि संरक्षण गर्दै आएकाले यातायात क्षेत्र व्यवसायिक बन्न नसकेको दाबी गर्नुभयो ।

लामो समयदेखि सीमित व्यक्तिमा रहेको एकाधिकारबाट यातायात क्षेत्रलाई बाहिर ल्याउने काम भएकाले तत्काल केही कानुनी बाधा देखिए पनि सरकारले सबै जटिलताहरुको अन्त्य गर्दै लैजाने मन्त्रस् थापाले प्रतिवद्धता जनाउनुभयो ।

नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिका अध्यक्ष होमप्रसाद अधिकारीले यातायात क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको भन्दै त्यसको अन्त्यका लागि पहल गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले यातायात कार्यालयका कर्मचारीहरु दिनहुँ अख्तियारको नियन्त्रणमा पर्ने गरेबाट नै त्यहाभित्रको आर्थिक अनियमिततालाई प्रष्ट पारेको उल्लेख गर्नुभयो । उहाँले यातायात कार्यालयका कर्मचारीहरुबाट व्यवसायीहरु पनि मर्कामा परेको दाबी गर्नुभयो ।

अध्यक्ष अधिकारीले यातायात क्षेत्रमा ९८ प्रतिशत निजी क्षेत्रको योगदान रहे पनि भ्रष्टाचार गर्न नपाउने भयका कारण नीति निर्माण तहमा निजी क्षेत्रलाई सहभागी नगराइएको दाबी गर्नुभयो ।

सरकारले देशभरका सबै बस व्यवसायी समितिलाई खारेज गरी कम्पनी र प्रालिमा जानुपर्ने बाध्यकारी नियम बनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया