अर्काको सहायतामा हिँडडूल, आफ्नै पौरखमा गुजारा

 मंसिर २८, २०७५ शुक्रबार ११:३७:१९ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडाैं – सुन्धारा नजिकैको व्यस्त सडकमा पैदल हिँड्नेदेखि सामान किनबेच गर्नेसम्मको घुईंचो छ । यही व्यस्त सडकको एक छेउमा स्याङ्जाकी गीता भुषाल पनि हुनुहुन्छ । शारिरीक रुपमा अशक्त उहाँले बिभिन्न प्रकारका खेलौना तथा उपहारका सामानहरु बेच्नको लागि राख्नुभएको छ । 

त्यहाँ बेच्न राखिएका सबै सामानहरु उहाँ आफैंले बनाउनुभएको हो । हातले बनाएका खेलौना, पर्स र क्यापहरु बेच्न राखिएका छन् । ऊनबाट बनाइएका यी सामानहरु हेर्दै किनौं किनौं जस्तो लाग्छ । गीता यसरी नै आफैंले बनाएका सामान बेचेर आयआर्जन गर्नुहुन्छ । 

उहाँलाई लाग्छ, मान्छेको दिमाग मात्र चले पनि मागेर खानु पर्दैन । उहाँ ह्विलचियरको सहायताले हिँडडुल गर्नुहुन्छ । ‘जन्मदै खुट्टामा समस्या थियो रे’, उहाँले भन्नुभयो, ‘दुबै खुट्टा धेरै छोटा भएकाले हिँड्न मिल्दैन, यही ह्विलचियरले सघाएको छ ।’ उहाँलाई ह्विलचिएर चलाउन पनि अरुकै सहायता चाहिन्छ । 
नियतीभन्दा अठोट ठूलो

गीताले बेच्न राख्नुभएका खेलौना तथा पर्सहरु उहाँ आफैंले बनाएका हुन् भन्दा जोकोही अचम्म पर्छन् । उहाँको अशक्त हातहरुले यति राम्रो सामान कसरी बनाउन सक्यो होला भन्ने खुल्दुली हुन्छ । उहाँसँग एउटै जवाफ हुन्छ, ‘मनमा गर्छु भन्ने आँट भएपछि के गर्न सकिंदैन र ।’
आफू अपाङ्ग भएर जन्मिनुमा उहाँले कहिल्यै पनि नियतीलाई दोष दिनुभएन । कसैलाई केही गर्नुपर्छ भन्ने अठोट भएपछि नियतीले पनि आत्मसमर्पण गर्छ भन्ने लाग्छ गीतालाई । 

पढ्न नपाए पनि काम गर्न भने कसैले रोकेन 

उमेरले २४ वर्ष भयो । परिवारमा आमा, दाइ, अनि भाइबहिनीहरु छन् । दाइ कामको लागि विदेश गएका छन् । भाइबहिनीहरु गाउँमै पढ्छन् ।  

गोकर्णमा रहेको एक संस्थामा रहेर उहाँले १० कक्षासम्म पढ्नुभयो । गाउँकै क्याम्पस पढ्ने सोच भए पनि घरबाट क्याम्पस र त्यहाँबाट घर ल्याइदिने कोही पनि नभएपछि उहाँले पढ्ने सोचमा पूर्णविराम लगाउनुभयो ।

‘आफ्नो समस्यालाई अर्काको टाउको दुखाईको विषय बनाउन मन लागेन’ उहाँले भन्नुभयो, ‘गाउँमा एकजना म्याडम हुनुहुन्थ्यो उहाँले नै मलाई फेरि काठमाडौंमा जान सल्लाह दिनुभयो । तार्केश्वर पैयुँटारस्थित अपाङ्गता सेवा केन्द्र उहाँकै चिनजानका मान्छेको रहेछ, अनि म यतै आएँ ।’

ऊनका गुडिया बनाउँदैमा बित्छ दिन

अहिले गीता त्यही सेवा केन्द्रमा बस्नुहुन्छ । त्यहाँ उहाँजस्तै अपाङ्गता भएका अरु ३० जना पनि छन् । सबैले यस्तै खेलौना बनाउने काम गर्छन् । गीता पनि दिनभरी यही काम गर्नुहुन्छ । अलि धेरै बनाइसकेपछि आफूले बनाएका सामानहरु बेच्न उहाँ सुनधारातिर पुग्नुहुन्छ ।

सेवा केन्द्रका स्वंयसेवक रामबहादुर तामाङले गीतालाई सामान बेच्ने ठाउँसम्म पुर्याउन र ल्याइदिन सहयोग गर्नुहुन्छ । सेवा केन्द्रका सबै सदस्यले यस्तै खेलौना बनाउने काम गर्छन् । 

‘यो बनाएवापत उहाँहरुलाई प्रति थानका आधारमा ज्याला मिल्छ’ तामाङलले भन्नुभयो, ‘उहाँहरुको सीप तथा बनाउनुभएका सामानको बिक्रीले नै संस्था चलेको छ ।’ 
‘एउटा बनाएको कम्तिमा १० देखि ५० रुपैयाँ सम्म पर्छ । बेचेको पनि त्यही आधारमा ज्याला पाइन्छ,’ गीताले भन्नुभयो, ‘दिनमा दुई तीन हजार रुपैयाँको व्यापार हुन्छ, यसबाट मैले तीनचार सय रुपैयाँ जति पाउँछु ।’

अपाङ्गता भएकाहरुलाई सरकारले नहेरेको गुनासो

आफूमा सीप भएपछि मागेर खानु पर्दैन लाग्छ गीतालाई । आफूजस्ता अपाङ्गता भएकाहरु सरकारले दिने आधारभूत आवश्यकताबाट पनि बञ्चित भएको उहाँ गुनासो पोख्नुहुन्छ । भन्नुहुन्छ, ‘विदेशी संस्थाले बरु सहयोग गरेको हुन्छ । सरकारले खासै ध्यान पनि दिएको छैन । अपाङ्गता स्याहार केन्द्र सहरमा मात्र भए गाउँतिर भएनन् ।’

शारिरीक रुपमा आफूभन्दा सवल मान्छेले पनि मागेर गुजारा चलाएको देखेर अचम्म लाग्छ गीतालाई । कसैको दयाको पात्र बनेर आत्मसम्मान मिल्दैन । उहाँलाई लाग्छ, आत्मसम्मान पाउनको लागि मान्छेले केही गर्नै पर्ने रहेछ । भन्नुहुन्छ, ‘मनमा केही गर्ने अठोट भएपछि आत्मसम्मान पनि मिल्दो रहेछ ।’

भविष्यमा आफ्नै व्यापार गर्ने सोच

पहिले आफूमा सीप थिएन, पढ्ने सोच थियो । अहिले हातमा सीप भैसक्यो । अब भविष्यमा आफ्नै पसल खोलेर व्यापार गर्ने रहर छ । उहाँले आफ्नो योजना सुनाउनुभयो, ‘आफ्नै पसल खोलिन्छ, त्यहाँ म जस्तै साथीहरुलाई काम गर्न राखिन्छ ।’ 

आफ्ना योजनाहरु सुनाईरहँदा उहाँले आफैसँग प्रश्न गर्नुभयो, ‘तर व्यापार गर्नको लागि त पैसा चाहिन्छ नि हैन र ?’ उहाँको प्रश्नमा आर्थिक अभावका कारण आफ्नै खुट्टामा उभिन हम्मे पर्ने अपाङ्गता भएका व्यक्तिहरुको अवस्था झल्किन्छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया