एभरेष्ट प्रिमियर लिग क्रिकेट : फाइनलमा पुग्न ललितपुर र काठमाडौं भिड्दै

 पुस ३, २०७५ मंगलबार ६:५३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

एभरेष्ट प्रिमियर लिग क्रिकेटमा मंगलबार पहिलो क्वालिफायर खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे हुने खेलमा ललितपुर प्याट्रियोट्स र काठमाडौं किंग्स इलाभेन भिड्नेछन् ।

जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहँदै ललितपुर प्लेअफमा पुग्दा काठमाडौं दोस्रो स्थानमा रहेको थियो । पहिलो र दोस्रो स्थानका टिम क्वालिफायर राउण्डमा भिड्न लागेका हुन् । याे खेलमा विजयी हुने टिम सिधै फाइनलमा प्रवेश गर्दा पराजित हुने टिमले इलिमिनेटर राउण्डमा भैरहवा ग्लाडियटर्स र चितवन टाईगर्सका विजेतासँग फाइनल प्रवेशका लागि फेरि एक पटक प्रतिस्पर्धा गर्ने छ ।

क्वालिफायर राउण्डमा ललितपु र काठमाडौं भिड्नु अघि लिग चरणमा भेट भएका थिए । जसमा ललितपुरले काठमाडौंमाथि १० विकेटको फराकिलो जित निकालेको थियो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरका सन्नी पटेल, गौरब तोमार उत्कृष्ट फर्ममा रहेका छन् । यसैगरी सोनु तामाङ, कुशल भुर्तेल, सन्दीप जोरा, पवन शर्राफ, राशिद खान, योगेन्द्र कार्की र ललित राजबंशीको भूमिका पनि महत्वपूर्ण रहेको छ ।

लिग चरणमा विराटनगर वारियर्ससँग मात्रै हारेको ललितपुरले बाँकी सबै खेल जितेको थियो । यसैगरी दोस्रो हुँदै क्वालीफायरमा पुगेको अर्को टिम काठमाडौंले पनि लिग चरणमा राम्रो प्रदर्शन गरेको थियो । अन्तिम खेलमा काठमाडौंले डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्सलाई पराजित गर्दै प्रतियोगितबाट बाहिर पठाउन सफल भयो । काठमाडौंले ५ मध्य चार खेल जितेको थियो । काठमाडौं लिग चरणमा ललितपुरसँग मात्रै पराजित भएको थियो ।

तर ललितपुरलाई पराजित गरेको विराटनगरलाई ५ विकेटले पराजित गर्दा दोस्रो स्थानमा पुगेकाले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । सुरुमा सोमपाल कामीको कप्तानी भनिए पनि उनी विरामी भएपछि काठमाडौंको कप्तानी अहिले रोहन मुस्तफाको काँधमा आएको छ ।

काठमाडौंमा मुस्तफासहित,केविन ओब्राइन र प्रदीप साहुस्ता विदेशी खेलाडी छन् । यसैगरी अमित श्रेष्ठ, सागर पुन, नरेश बुढाएर, राजु रिजाल, अमरसिंह रौटेला, सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, बिक्रम भुसाल जस्ता नेपाली खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया