७ महिनादेखि दिल्लीको होटेलमा बन्धक बनाइएका ९ जना नेपाली महिला उद्धारपछि घर फर्किए

 पुस १४, २०७५ शनिबार ६:१९:१५ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – वैदेशिक रोजगारीको प्रलोभनमा पारी ७ महिनादेखि बन्धक बनाइएका ९ जना महिला उद्धारपछि शुक्रबार घर फर्किएका छन् । 

विदेश पठाइदिने भन्दै ७ महिनादेखि बन्धक बनाइएका उनीहरुलाई दिल्लीको पहाडगंञ्जको रिङ्गो होटलबाट उद्धार गरिएको हो । दिल्ली पुलिस र के.आई. नेपालको संयुक्त प्रयासमा पुस १० गते उद्धार गरिएका महिलाहरू कानुनी प्रक्रिया पूरा गरी के.आई. नेपालको संरक्षणमा आएका थिए ।

विभिन्न पहाडी जिल्लामा घर भएका ७ जना महिला शुक्रबा सकुशल घर पुगिसेकेको केआई नेपालका कार्यक्रम निर्देशक ईन्द्रराज भट्राईले बताउनुभयो । कुवेत, दुबई र साउदीलगायत अन्य खाडी देश पठाइदिने भन्दै उनीहरुलाई बेलहिया तथा काकडभिट्टा सीमानाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने झुटो बहाना बनाई सीमापार गराइएको पीडित महिलाले बताएका छन् ।

भारतमा लगेर भारतीय दलालले होटलको एक कोठामा राखी आजभोलि भन्दै सात महिनासम्म उनीहरुलाई बन्धकब बनाएको थियो । उद्धार गरिएका ९जनामध्ये ७ जनालाई कुवेत, १ जनालाई दुबई र १ जनालाई साउदी अरेबिया लैजाने प्रलोभन दिइएको पीडित एक महिलाले बताइन् । 

विदेशमा राम्रो रोजगारीको लोभमा भारत पुगेका उनीहरु धन कमाउने, परिवारको आर्थिक अवस्थामा सुधार ल्याई भविष्यलाई उज्ज्वल बनाउने सपना देखेर दलालको चंगुलमा फसेका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया