शक्तिकाे दुरुपयाेग गर्दै सरकारले विधेयक पारित गरायाे : कांग्रेस

 माघ ११, २०७५ शुक्रबार १७:२६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संविधान, कानुन तथा संसदीय मूल्य र मान्यता विपरीत ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको गम्भीर आरोप लगाएको छ । 

शुक्रबार प्रतिनिधिसभा बैठकले सत्तापक्षको बलमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेलगत्तै बसेको कांग्रेस संसदीय दलको आकस्मिक बैठकले लोकतान्त्रिक मूल्य र मान्यतामा समेत गम्भीर असर गर्ने गरी सरकारले विधेयक पारित गराएको निष्कर्ष निकाल्दै निन्दा र भत्सर्ना पनि गरेको हाे ।

सिंहदरबारमा रहेकाे पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले शक्तिको दुरुपयोग गर्दै सरकारले सो विधेयक पारित गरेको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाएको पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

बैठकले सभामुख कृष्णबहादुर महराकाे भूमिका विधेयक पारित गराउन सत्तापक्षका कार्यकर्ता जसरी प्रस्तुत भएको उल्लेख गर्दै आइन्दा त्यसो नगर्न पनि सचेत गराएको छ ।

सबैको साझा व्यक्तिको रुपमा सभामुखलाई आगामी दिनमा सभामुखकै भूमिका निर्वाह गर्न पनि सचेत गराइएको प्रमुख सचेतक खाँडले बताउनुभयो ।

संसदीय दलको बैठकले पार्टीका पूर्वसभापतिद्वय स्व‍.गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको दुई अस्पताल केन्द्र सरकार मातहतमा नल्याए सरकारविरुद्ध सदन र सडक दुवै ठाउँबाट संघर्ष चर्काउने चेतावनी पनि दिएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया