अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्दै प्रदर्शनमा उत्रिएका १७ जना स्वास्थ्यकर्मी पक्राउ

 माघ १८, २०७५ शुक्रबार १३:२७:१८ | उज्यालो सहकर्मी

काठमाण्डौ – स्वास्थ्यकर्मीहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् । बन्द र प्रर्दशनका क्रममा काठमाण्डौको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालबाट १७ जना स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । 

डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा प्रदर्शन गरिरहेका डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । 

२४ दिनदेखि अनसन बसिरहेका डाक्टर केसीको जीवनरक्षाका लागि सरकारले पहल  नगरेको भन्दै आज अस्पतालको आकस्मिक सेवा बाहेक उपचार नगर्ने घोषणा गरी जुलुस निकालेका १७ जना आवासीय डाक्टरलाई प्रहरीले पक्राउ गरेको हो । 

शिक्षण अस्तालबाट शीतल निवासतर्फ अघि बढेपछि डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले आवासीय चिकित्सक संघका अध्यक्ष  सुमित पाण्डेसहित डाक्टरहरु विशाल अग्रवाल, अमित शर्मा, बद्री अर्याललगायतका १७ जनालाई पक्राउ गरेको हो ।   

आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न सरकारलाई दबाब दिन नेपाल चिकित्सक संघको आह्वानमा शुक्रबार देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिरहेका चिकित्सकहरुले डा. केसीको जीवन रक्षाको माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजीसमेत गरेका छन । महाराजगञ्जस्थित शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले डा. केसीको जीवन रक्षाका लागि पहल नगरेको भन्दै सरकारविरुद्ध नाराबाजी लगाएका हुन । 

चिकित्सकहरुले वीर अस्पताल, शिक्षण अस्पताललगायतका काठमाडौंमा मुख्यमुख्य अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु भने मारमा परेका छन् । 

संघले आफूहरुको आन्दोलनका कारण सर्वसाधारणमा पर्न गएको असुविधाप्रति दुःख पनि व्यक्त गरेको छ । संघले वार्ता र संवादको माध्यमबाट वर्तमान समस्याको समाधान गर्न पनि सरकारलाई अपिल गरेको छ ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया