अन्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रिने सस्ता वस्तुमाथि प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश

 फागुन २६, २०७५ आइतबार २०:४०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले अन्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता वस्तुलाई प्रतिबन्ध लगाउने गरी संसदमा ‘सेफगार्डस्, एन्टी–डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग विधेयक’ पेश गरेको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सेफगार्डस्, एन्टी–डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग विधेयक पेश गर्नुभएको हो । प्रतिनिधि सभाले विधेयक पारित गरेपछि अन्र्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता र ब्राण्ड पहिचान स्पष्ट नभएका मालवस्तु पूर्णरुपमा प्रतिबन्धित हुनेछन् ।

उद्योगमन्त्री यादवले लागत मूल्यभन्दा कम मूल्यमा आयात वा सहुलियत प्राप्त मालवस्तुको अत्याधिक आयात हुँदा स्वदेशी उद्योग धारासयी बन्ने अवस्थाको अन्त्य गर्न याे विधेयक पेश गरेको बताउनुभयो ।

मन्त्री यादवले पेश गरेको विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । यसअघि सैद्धान्तिक छलफलको क्रममा सांसदहरुले विधेयक ल्याउन ढिलो भएको भन्दै गुनासो गरेका थिए । सरकारले गएकाे फागुन ११ गते याे विधेयक संसदमा दर्ता गरेको थियो ।

विधेयक हुबहु पारित भए अन्र्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता वस्तुको आयातमा रोकिने छ भने डम्पिङ्ग गरिएको देखिए भन्सार र अतिरिक्त एन्टी–डम्पिङ्ग शुल्क लाग्ने छ ।

यस्तै, अन्तर्राष्ट्रिय बजारबाट भित्रने सहुलियत तथा अनुदान प्राप्त मालवस्तुमा पनि प्रतिबन्ध लाग्ने छ । विश्व व्यापार सङ्गठनले यस्ता वस्तुको आयात निर्यात गर्न नहुने बताए पनि नेपालमा हालसम्म यस्ता वस्तुकाे आयात रोकिन सकेको छैन ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया