सीएमसी कम्पनीले सरकारसँग क्षतिपूर्ति बापत माग्याे २ अर्ब ५२ करोड रुपैयाँ

 चैत १३, २०७५ बुधबार १४:५०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छोडेर गएको इटालियन ठेकेदार कम्पनी सीएमसीले सरकारसँग क्षतिपूर्ति बापत २ अर्ब ५२ करोड रुपैयाँ माग गरेको खुलासा भएको छ । 

संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा समितिका सदस्य सुरेन्द्रराज पाण्डेले नाकाबन्दी लगायतका कारण सो आयोजना निर्माणको क्रममा भएको क्षतिबापत सरकारसँग  सीएमसीले २ अर्ब ५२ करोड रुपैयाँ माग गरेको जानकारी गराउनु भएको हो ।

समितिले पाण्डेलाई आयोजनाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको थियो । समितिको बुधबारको बैठकमा उहाँले बुझाउनु भएको प्रतिवेदनमा आयोजनाको बाँकी काम सम्पन्न गर्न २ अर्ब ४५ करोड लाग्ने सम्बन्धित निकायले जानकारी गराएको पनि उल्लेख गरिएको छ ।

प्रतिवदेनमा सीएमसी कम्पनीलाई भन्दा नयाँ ठेकेदार कम्पनीलाई जिम्मेवारी दिएर आयोजनाको बाँकी काम सम्पन्न गर्न पनि सरकारलाई सुझाव दिइएको छ । समितिका सदस्य पाण्डेले २ अर्ब ५२ करोड क्षतिपूर्ति दिएर सो आयोजनाको बाँकी काम सीएमसी कम्पनीबाटै गराउनुभन्दा २ अर्ब ४५ करोडमा सो आयोजनाको काम सम्पन्न गर्न उपयुक्त हुने देखिएको पनि समितिलाई जानकारी गराउनु भयो ।

समितिका सदस्य पाण्डेले आयोजनाको कामलाई छिटो अघि बढाउन पनि सरकारलाई सचेत गराउनु भयो । प्रतिवेदनमा सीएमसी कम्पनीको २ अर्ब १० करोड रुपैयाँ सरकारले बैंकबाट जफ्त गरिसकेको पनि उल्लेख गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया