५ खेलमा आरसीबीको लगातार हारका ५ कारण

 चैत २३, २०७५ शनिबार ७:२२:३७ | एजेन्सी
unn.prixa.net

जुनसुकै खेल होस्, कहिलेकाहीँ यस्तै नतिजा देख्न पाइन्छ । चमत्कार, अविश्वसनीय तथा करिश्माजस्ता शब्द पनि कुनै खेलाडीअगाडि फिक्का हुन्छन् । 

शुक्रबार त्यस्तै भयो, जब बेंग्लोरमा कोलकाताका आन्द्रे रसेलले एक प्रकारको सुनामी नै ल्याए जसले विराट कोहलीको पूरा टिमलाई हल्लाइदियो । 

कोलकाता नाइटराइडर्ससँग ५ विकेटले हारेसँगै रोयल च्यालेन्जर्स बेंग्लोरले पाँचौँ हार व्यहोरेको छ । 

बेंग्लोरले कोलकातासामु २०६ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो । आन्द्रे रसेलले केवल १३ बलमा एक चौका र सात छक्काको सहयोगमा नटआउट ४८ रन बनाए । कोलकाताले १९ ओभर एक बलमै ५ विकेट गुमाउँदै बेंग्लोरलाई हरायो । रसेलले छक्काको वर्षाले बेंग्लोरका समर्थकलाई स्तब्ध बनायो । 
आन्द्रे रसेलले त्यसै छक्का हानेका होइनन्, उनका प्रायः शट शक्तिशाली नै थिए । 

उनले सबैभन्दा निरीह बनाए  बेंग्लोरका बलर टिम साउथीलाई । टिम साउथी १९ औँ ओभरमा आफ्नो स्पेल पूरा गर्न आएका थिए । यो ओभरमा रसेलले चार छक्का र एक चौका हाने । साउथीले एकै ओभरमा २९ रन खर्चिए । 

यसभन्दा पहिले मार्कस स्टोइनिसको १८औँ ओभरको बलिङ पनि बेंग्लोरका लागि महंगो पर्न गयो । उनले यस ओभरमा २३ रन खर्चिए । यसमा पनि रसेलले दुई छक्का हाने । 

१६औँ ओभरमा पवन नेगीले १३ रन खर्चिए । यही तीन ओभरमा बेंग्लोरको हातबाट खेल कोलकाताले आफ्नो पक्षमा पार्न सफल भयो । 
क्रिस लिन र नितीश राणा पनि छाए 

कोलकाताका लागि रसेलका अलावा क्रिस लिनले ४३ र नितीश राणाले ३७ रन बनाए ।

म्याचपछि बेंग्लोरका कप्तान विराट कोहलीलले इमान्दारीपूर्वक हार स्वीकार गरे । अन्तिम ओभरमा आफ्ना बलरले चतुर्याइँ देखाउन नसकेको उनले बताए । 

त्यस्तै आन्द्रे रसेलले यस्तो खेलमा केवल एक ओभरले म्याचको नक्सा बदल्ने बताए । विस्फोटक ब्याटिङका समयमा बलमा आँखा र हातको सामञ्जस्यता मिल्नुपर्ने उनको तर्क थियो । 

यसभन्दा पहिले बेंग्लोर टस हारेर ब्याटिङको निम्तो पाएको थियो । उसले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०५ रन बनायो ।

कप्तान विराट कोहलीले शानदार पारी खेल्दै ८४ रनको योगदान दिँदा एबी डी भिलियर्सले ६३ रनको योगदान दिए । उच्च स्कोरको टार्गेट दिँदा पनि बेंग्लोर किन हार्यो त ?

लगातार ५ हारका ५ कारण

१. ब्याटिङमा दम छैन

निर्धारित २० ओभरमा मात्र तीन विकेट गुमाएर २०५ रनको योगफल तयार पार्नुलाई कम आँक्न सकिँदैन । विराट कोहली र पार्थिव पटेलबीचको साझेदारीमा ६४ रनको साझेदारी भएसँगै स्कोर २३० भन्दा माथि पुग्ला कि भन्ने आश थियो । 

पार्थिव जम्न नसके पनि विराट कोहलीले ४९ बलमा ८४ रन बनाउँदा डी भिलियर्सले ३२ बलमा ६३ रन बनाए । 

तर यसभन्दा पहिलेका खेलमा बेंग्लोरको ब्याटिङ सन्तोषजनक रहेको छैन । 

चेन्नईँसँग मात्रै ७० रनमा समेटिएको थियो बेंग्लोर । सनराइजर्स हैदराबादसँग पनि केवल ११३ रन मात्र बनाउन सकेको थियो । जुन खेलमा हैदराबादका लागि जोनी बेयरिस्टो र डेभिड वार्नरले शतक प्रहार गरेका थिए । 

त्यस्तै बेंग्लोरले राजस्थान रोयल्सलाई दिएको १५९ रनको लक्ष्य डिफेन्ड गर्न सकेन । मुम्बईले दिएको १८८ रनको लक्ष्य पनि बेंग्लोरले भेट्टाउन सकेन । 

२. कमजोर फिल्डिङ

अहिलेसम्म भएका खेलमा बेंग्लोरको फिल्डिङ एकदमै कमजोर देखिएको छ । शुक्रबारकै खेलमा पवन नेगीले सुनिल नारायणलाई शानदार क्याच आउट गराए भने अर्कोतर्फ थुुप्रै सजिला क्याच मिस गरे । 

यसभन्दा पहिले राजस्थान रोयल्ससँगको खेलमा बेंग्लोरले ५ भन्दा बढी क्याच मिस गर्यो । 

कोलकाताविरुद्धको खेलमा त दिनेश कार्तिकको एउटा शट कप्तान विराट कोहलीको हात हुँदै बाउन्ड्री लाइन क्रस गरेको थियो । 

३. बलिङमा धार छैन

बेंग्लोरले खेलेका अहिलेसम्म खेलमा उसको बलिङमा कुनै धार देखिएको छैन । 

यो पनि साँचो हो कि रसेलको ब्याट चल्न थाल्यो भने त्यसलाई रोक्न मुश्किल त हुन्छ तर असम्भव भने छैन । 

तर बेंग्लोरसँग एक जना बलर थिएन जसले रसेललाई योर्करको जालमा फसाउन सकोस् । जस्तो कि दिल्लीका बलर केगिसो रबाडाले फसाएका थिए । 

सुपर ओभरमा पुगेको खेलमा रबाडा नै थिए रसेललाई योर्करको सहायतमा रोक्ने । रबाडाले नै दिल्लीलाई रोमाञ्चक जित दिलाएका थिए । 

यहाँसम्म कि जुन विकेटमा चेन्नईले यस आईपीएलको पहिलो खेलमै आफ्ना स्पिनरको बलमा बेंग्लोरलाई ७० रनमा अलआउट गरेको थियो, त्यहाँ पनि बेंग्लोरका स्पिनरले तीन विकेट मात्रै लिन सके । 

केवल युजवेन्द्र चहलले राम्रो बलिङ गरेका छन् । केवल एक बलरको भरमा त म्याच जित्न मुश्किल हुन्छ ।

४. टिम छनोटमा प्रश्न

टिमको छनोटमा पनि विराट कोहलीले गल्ती गरेको क्रिकेट विश्लेषक बताउँछन् ।

पिचका हिसाबले अन्तिम ११ मा कसलाई राख्ने भन्ने कुराको निर्णय गर्नुपर्छ । टिम छनोटको विषयमा कोहलीको टेस्ट म्याचमा समेत आलोचना हुने गरेको छ । 

५. कप्तानीमाथि प्रश्न

विराट कोहलीले अहिलेसम्म टिमलाई आईपीएल च्याम्पियन बनाउन सकेका छैनन् । त्यसैले पनि उनको कप्तानी प्रश्नहरुले घेरिएको छ । 

कुनै अर्को फ्रेन्चाइजीले यति धेरै असफलताका बाबजुद कसैलाई कप्तानको जिम्मेवारी दिएको छैन ।

टिमलाई च्याम्पियन बनाएका गौतम गम्भीरलाई कोलकाताले निकालेको थियो । 

विराट कोहलीको ब्याट पनि कहिलेकाहीँ रसेलकै जस्तो चल्थ्यो । आईपीएलपछि विश्वकै सबैभन्दा उत्कृष्ट ब्याट्सम्यानमा गनिन्थे कोहली । 

तर यस पटक पाँच खेलमा केवल एउटा मात्र अर्धशतक बनाएका छन् कोहलीले । यदि विराट कोहलीको ब्याट शान्त रहने हो भने परिणाम त यस्तै नै आउने पक्का छ । 

७० रनमै अलआउट हुने टिमलाई कसले बचाउन सक्छ र ? अब त यस्तो लाग्छ यो वर्ष विराट कोहलीका लागि ठिक छैन । पहिले अष्ट्रेलियाको हातबाट टी–२० र एकदिवसीय श्रृङ्खलामा हार । अहिले आईपीएलमा लगातार पाँचौ हार ।

कतै यस्तै नतिजाले विश्वकपभन्दा पहिले उनको मनोबल कमजोर हुने त होइन ? यसका लागि पनि बेंग्लोरले आफूलाई सम्हाल्नु पर्ने देखिन्छ ।
 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया