इज एभ्रिथिङ फेयर इन पोलिटिक्स ?

 बैशाख ७, २०७६ शनिबार १७:११:८ | उज्यालो सहकर्मी
unn.prixa.net

दामोदर न्यौपाने

भारतमा लोकसभा चुनावका कारण माहोल निकै तात्तेको छ । सात चरणमा सम्पन्न हुने चुनावको पहिलो र दोस्रो चरणको मतदान सम्पन्न भएको छ । एक महिना लामो समयावधिको मतदानको नतिजा मे २३ मा सार्वजनिक गरिनेछ । 

आउँदाे सरकारकाे नेतृत्वका लागि विभिन्न तिकडम अपनाइँदैछ । विभिन्न राजनीतिक दल र नेता आफ्नो बल र ताकतले भ्याएसम्म लागिपरेका छन् । भोट माग्नकै लागि नयाँ नयाँ प्रयोग र हत्कण्डा पनि न अपनाइएको होइन । आफ्नो पार्टीलाई जिताउनकै लागि सामाजिक सञ्जालदेखि विभिन्न पोस्टर र नाराको सहारा पनि लिइरहेका छन् । यस्तो लाग्छ, जसरी हुन्छ यो चुनाव हामीले नै जित्नुपर्छ । 

अहिले प्रचारप्रसार र लोकप्रियताका लागि सामाजिक सञ्जाल भरपर्दाे र अति प्रभावकारी माध्यम बनेको छ । यसै सन्दर्भमा कुरा गर्दा अमित शाहको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) सामाजिक सञ्जाल फेसबुकमा निर्वाचन लक्षित गतिविधि र प्रचारप्रसारका लागि विज्ञापन दिनेमा सबैभन्दा अघि छ ।

गएको मार्च र अप्रिल महिनामा मात्र विभिन्न राजनीतिक दलले फेसबुकमा १० करोड भारतीय रुपैयाँको राजनीतिक विज्ञापन दिए । यसको शीर्षस्थानमा रहेको बीजेपीले यो दुई महिनामा ३६.२ लाख भारुभन्दा बढीको विज्ञापन दिएको छ । 

फेसबुक विज्ञापन लाइब्रेरीका अनुसार, यो वर्षको फेब्रुअरी र मार्च महिनाको बीचमा ५१ हजार आठ सय १० राजनीतिक विज्ञापनमा १०.३२ करोडभन्दा बढी राजनीतिक दलहरुले खर्च गरेका हुन् । यसमा बीजेपी र उसका प्रचारसँग सम्बन्धित विज्ञापनमा सबैभन्दा धेरै खर्च भएको छ । फेसबुकले ती विज्ञापन राजनीति र राष्ट्रिय महत्वका मुद्दासँग सम्बन्धित भएको जनाएको छ । 

यसैगरी दोस्रो नम्बरमा रहेको कांग्रेसले फेसबुकमा विज्ञापन दिँदा ५.९१ लाख भारु खर्च गरेको छ । बीजू जनता दल (बीजेडी) ले ८.५६ लाख, तेलगु देशम पार्टी (टीडीपी) ले १.५८ लाख र राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) ले ५८ हजार ३ सय ५५ खर्च गरेका छन् । पछिल्लो केही वर्षमा सामाजिक सञ्जाल फम्र्याट जस्तैः फेसबुक, ट्विटर र गूगल राजनीतिक प्रचारप्रसार र विज्ञापनका लागि गतिलो माध्यम बनेका छन् । 

एक तथ्यांकका अनुसार, भारतमा २० करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताहरु रहेका छन् । यही कारणले गर्दा पनि विभिन्न राजनीतिक पार्टीले फेसबुकलाई राजनीतिक विज्ञापन र प्रचारप्रसारको साधन बनाउँदै आएका छन् । फेसबुकमा विभिन्न नामबाट पेज बनाउँदै प्रचारप्रसार गर्ने प्रचलन बढ्दो छ । 

भारतमा आम नागरिकको भोट हत्याउनकै लागि पनि निर्वाचनको समयमा विभिन्न राजनीतिक पार्टीका उम्मेद्वारले दिने विवादास्पद र असान्दर्भिक टिप्पणी र विचारले पनि निकै महत्व पाउँदै आएको छ ।

भारतीय कांग्रेस भन्छ : बीजेपीको विदेश नीति ‘नेइबरहूड लस्ट’

यो लोकसभा चुनावमा पनि यी र यस्तै हरकतले स्थान पाए । भारतमा राजनीतिक पार्टी र त्यसका सदस्य विवादास्पद र अराजक टिप्पणी र भाषणमा मुछिनु सामान्य हो । विपक्षी पार्टी कांग्रेसले पनि गरिब र किसानलाई आफ्नो निशाना बनाएको छ । उसले गरिब र किसानलाई वार्षिक रुपमा ७५ हजार सहयोगको लोभका मत तान्ने प्रयास गरिरहेका छन् । 

भारतीय जनता पार्टीका सांसद तथा लोकसभा उम्मेदवार साक्षी महाराज यतिखेर आफूले दिएको एक टिप्पणीका कारण चर्चा र विवादको शिखरमा छन् । उत्तर प्रदेशको उन्नावमा जनसभालाई सम्बोधन गर्दै निकै फरक ढङ्गले र धम्कीपूर्ण किसिमले भोट मागेका छन् ।

उनले मतदातालाई डराउनकै लागि शास्त्रको सहारा लिएका छन् । ‘म सन्यासी हुँ र म भोट माग्न आएको हुँ, तपाईँहरुलाई पनि थाहा छ, सन्यासीलाई रित्तो हात पठाउनु हुँदैन, नत्र तपाइँको पुण्य लिएर जान्छ र तपाईँलाई आफ्नो पाप दिएर जान्छ । यो कुरा शास्त्रमा लेखिएको छ’, उनले भनेका छन् ।

यस्तै केन्द्रीय मन्त्री मेनका गान्धीले पनि सुल्तानपुरमा सम्बोधनकै क्रममा मुस्लिम समुदायले आफूलाई भोट नदिए त्यस समुदायलाई नहेर्ने बताएकी छिन् । यस्तै अभिव्यक्तिका कारण प्रधानमन्त्री नरेन्द्र मोदी पनि विवादमा न तानिएका भने होइनन् ।

प्रधानमन्त्री मोदीले सेनाका अवकाशप्राप्त अधिकारीको उपलब्धि र वीरतालाई लिएर भोट मागेको भन्दै पश्चिम बंगालकी मुख्यमन्त्री तथा टीएमसी (तृणमूल कंग्रेस) की प्रमुख ममता बनर्जीले उनको कडा आलोचना र विरोध गरेकी थिइन् । 

त्यस्तै उत्तर प्रदेशका मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथ र बहुजन समाज पार्टी (बीएसपी) की अध्यक्ष मायावतीलाई घृणित अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले प्रचारप्रसारमा रोक लगाएको थियो । आयोगले योगीलाई तीन दिन र मायावतीलाई दुई दिन निर्वाचनसम्बन्धी क्रियाकलापमा रोक लगाएको थियो । यी दुईले धार्मिक र जातीय विषयमा आपत्तिजनक टिप्पणी दिएका थिए । 

केहीदिन अघिमात्र जेलबाट जमानतमा छुटेकी भारतीय जनता पार्टीका उम्मेदवार साध्वी प्रज्ञा सिंह ठाकुरले पनि निकै विवादास्पद बयान दिएकी छन् । सन् २००८ को मालेगांवमा भएको विस्फोटमा गिरफ्तार परेका यिनले मृतकको परिवारलाई ठेस पुग्ने बयान दिएकी छन् । उनले आफ्नो श्रापका कारण उनीहरुको मृत्यु भएको बताएकी थिइन्, जसमा ४ जनाले ज्यान गुमाएका थिए भने १०१ जना घाइते भएका थिए ।  

चौतफी विरोधपछि उनले आफ्नो बयान फिर्ता लिएकी छिन् । ठाकुरलाई कांग्रेसका नेता दिग्विजय सिंहको बराबरीको प्रतिस्पर्धीको रुपमा लिइएको छ । मध्य प्रदेशको राजधानी भोपालबाट यी दुई चुनावमा उठ्दै छन् ।  

लोकतन्त्रको अभ्यास गरिरहेको विश्वकै ठूलो देशमा भइरहेको यस्तो गतिविधिबाट लोकतान्त्रिक युगमा प्रवेश गर्न लागेका अरु देशले के सिक्ने ? एक पार्टीले अर्काे पार्टीको विरुद्धमा प्रोपोगाण्डा फैलाउनेसम्मका कामहरु भैरहेका छन् । यस्तो लाग्छ, जसरी हुन्छ अब बन्ने सरकार हाम्रै थाप्लोमा हुनुपर्छ । यस्तै गतिविधिले उम्दा राजनीतिमा हुने स्वस्थ प्रतिस्पर्धा र अभ्यासलाई गिज्याइरहेको छ । छिमेकी राष्ट्र भएकै कारणले पनि नेपालले के सिक्ने र भारत लोकतन्त्रका अभ्यास गरिरहेको विश्वकै ठूलो देश हो भनेर कसरी पत्याउने ? 

भारतमा हुने हरेक गतिविधि र क्रियाकलापले विश्वको ध्यान खिचिरहेको हुन्छ र विशेषगरी निर्वाचनका समयमा हुने यस्तै गतिविधिले विश्वसमुदायले हेर्ने नजरमा पनि फरक पर्ने गर्दछ । चुनाव जसरी नै जित्ने नभई सहज रुपमा जित्ने माहोल बनाउनुपर्छ । जनताका जीवनजीविकासँग जोडिएका मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ ।

वर्षभरि नै जनताँसग जोडिएर उनीहरुका माग समस्यालाई सम्बोधन गर्नैपर्छ न कि चुनावमा भोटकै लागि । एक पार्टी अर्काे पार्टीको विरुद्धमा नभई स्वस्थ प्रतिस्पर्धीका रुपमा मैदानमा उत्रनुपर्छ । 

निश्चित दायरा र परिधिभित्र रहेर राजनीति गर्ने कि ‘एभ्रिथिङ्ग इज फेयर इन पोलिटिक्स ! ’ को वातावरण बनाउने ? यसको अर्थ खोज्न सकेमात्र स्वच्छ, स्वस्थ र लोकतान्त्रिक राजनीतिको अभ्यास गर्न सकिन्छ । होइन भने लोकतान्त्रिक शासनप्रणालीमा होमिँदै गरेका नेपालजस्ता देशले के अनुसरण गर्ने ? कि राजनीतिमा सबै जायज भन्ने कुरालाई अपनाउने ?   

अन्तिम अपडेट: साउन २०, २०७६

तपाईको प्रतिक्रिया