अनसन बस्न हिँडेका डाक्टर केसीलाई प्रहरीले रोक्यो

 असार १६, २०७५ शनिबार ११:४०:१६ | नेत्र शाही

जुम्ला – चिकित्सा शिक्षाको सुधारको माग राखी अनसन बस्न हिँडेका डाक्टर गोविन्द केसीलाई  जुम्लामा प्रहरीले रोकेको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा अनसन बस्न हिँडेका उहाँलाई प्रहरीले खलंगाको टुँडिखेलमा नै रोकेको हो । प्रतिष्ठान हाता जान नदिए प्रहरीले रोकेकै ठाउँमा अनसन बस्ने डाक्टर केसीले बताउनुभएको छ र अहिले उहाँ प्रहरीले रोकेकै ठाउँमा बसिरहनु भएको छ । डाक्टर केसी अनसनका लागि आएको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकी विज्ञप्ति निकालेर अनसन बस्न प्रतिबन्ध लगाएको थियो । 

डाक्टर केसीले सरकारले अनसन बस्न प्रतिबन्ध गर्नु एकतन्त्रीय शासनको नमुना भएको भन्दै अनसन बसेरै छाड्ने बताउनुभयो । डाक्टर केसीले प्राकृतिक रुपमा सुन्दर कर्णालीलाई हेला गरेर पछाडि पारिएको भन्दै कर्णालीलाई मेडिकल हब बनाउने योजनासहित प्रतिष्ठानमा एमबीबीएस, एमडीजीपी कार्यक्रम सुरु गर्नु पर्ने मागसहित अनसन बस्न लाग्नु भएको हो । 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर फरक शैलीमा ल्याउन खोजिएको भन्दै १५ औं अनसन बस्न डाक्टर केसी हिजो जुम्ला पुग्नु भएको थियो । उहाँ जुम्ला पुगेकै दिन सरकारले उहाँसँग गरिएका सम्झौता विपरीत काठमाडौंमा पनि नयाँ मेडिकल कलेज खोल्न पाउने गरी चिकित्सा शिक्षा विधेयक अघि बढाएको छ । 

सरकारले संसदमा हिजो दर्ता गरेको यो विधेयक पारित भएमा नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको लगानी रहेको काठमाडौंको मनमोहन मेमोरियल कलेज र झापाको बी एण्ड सी कलेजले पनि सम्बन्धन पाउने छन् । यसअघि काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने गरी सरकारले डाक्टर केसीसँग सहमति गरेको भए पनि विधेयकमा कलेज खोल्न पाउने व्यवस्था गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया