परदेशीका श्रीमतीले फेरेको आचार्य गाउँ पुग्दा (भिडियोसहित)

 असार १८, २०७५ सोमबार १२:२०:२ | सन्जिता देवकोटा

हल्का तुवाँलो, फाट्टफुट्ट पानी पर्दैथियो  । मौसम राम्ररी उघ्रिएको थिएन,  खोटाङ दिक्तेलको आचार्य गाउँ  । मौसमका कारण दिन निराशलाग्दो देखिए पनि गाउँका महिलाहरु बिहानैदेखि उत्साहित भएर काम र पढाई थाल्दै थिए  ।

विदेश जानेका परिवारलाई सुरक्षित आप्रवासन परियोजना (सामी)ले वित्तीय साक्षरता कक्षा सञ्चालन गरेपछि यहाँका महिलाहरुमा परिवर्तन आएको छ भन्ने सुनेको थिएँ । यसपालि आफ्नै आँखाले देख्न पाइयो ।

बिहानै चिसो हावा चलिरहेको थियो । चिसो हावालाई तताउँदै हातमा किताब बोकेर पढ्न पुगेका महिलाहरुको कानेखुसी गर्दैथिए । बिहानको घरधन्दा र पानीपँधेरो सकेर पढ्न पुगेका उनीहरुमध्ये धेरैजसो परदेशीका श्रीमती र कोही चाहिँ आमा । हातमा एउटा किताब । 

आचार्य गाउँबाट विदेश जानेका परिवार सबैजना हप्तामा एकपटक युवावर्ष स्कुलको एउटा कोठामा वित्तीय शिक्षा पढ्न जम्मा हुन्छन् ।

गाउँको बीचमा रहेको युवावर्ष स्कुलको एउटा कक्षामा जम्मा भएका २५ जना महिलाका श्रीमान् र छाेराछाेरी उनीहरुकै माया मनमा भरेर पाखुरा बजार्न खाडी गएका छन् । उनीहरु चाहिँ वित्तीय शिक्षा पढेर गाउँघरमै पाखुरा बजार्दै विदेश गएका पतिलाई फर्काउन लागिपरेका ।

‘सुरुसुरुमा त कहाँ उनीहरु यस्ता थिए र !’ वित्तीय साक्षरता प्रशिक्षक मिनप्रसाद आचार्यले सुनाउनुभयो । मिनप्रसादकै कुरामा अनिता रिजालले थप्नुभयो, ‘विदेशबाट पैसा आइहाल्छ, किन दुःख गर्नु भन्ने लाग्थ्यो नि ।’

साक्षरता कक्षामा बस्ने अनिताले मोवाइलमा खिचेको बडेमानका फर्सीको फोटो देखाउँदै भन्नुभयो, ‘यत्रो फर्सी पनि फलाइयो ।’ बारीमा फलेको झण्डै आधा मान्छे बराबर लामो फर्सीले मेरो ध्यान तान्यो ।

अघिपछि कहिल्यै तरकारी खेती नगरेकी अनितालाई के कुराले छोयो ? जो हिजोआज बारीभरी तरकारी फलाएर आफ्नो जीवन भर्न लागि पर्नुभएको छ । 
उहाँले कुराको चुरो भनिहाल्नुभयो, ‘कक्षामा बसेपछि विदेशको दुःख बुझियो, अनि काम थालियो ।’

विदेशमा पैसा कमाउन हुने दुःख बुझाउन प्रशिक्षक मिनप्रसादलाई कम्ता गाह्रो भएको रहेनछ । सुरुसुरुमा त गाउँका महिलाले उहाँलाई पत्याएनन् । पल्लोघरको अस्तिको भतिज भाइले के पढाउला र कक्षामा जानु भन्न थाले महिलाहरु ।

नमान्ने र नपत्याउनेहरुलाई कक्षामा ल्याउनु नै मिनप्रसादका लागि चुनौती भयो । तर मेहनतको फल मिठो हुन्छ भने झै मुश्किलले कक्षामा बस्न मानेका महिलाले अहिले गाउँ नै हराभरा बनाएका छन् । 

यसरी फेरियो गाउँ

मेहनती महिलाले हरभरा बनाएको गाउँ देख्दा जति सुन्दर छ, त्यति नै रोचक छ,  आचार्य गाउँ फेर्ने महिलाका कथा पनि । झापाबाट बिहे गरेर खोटाङ पुगेकी अनितालाई पहिले खेतबारीमा उब्जाउ गरेर कमाउन सकिन्छ भन्ने नै लाग्दैन थियो । 

हुन त तराईका ठूला ठूला फाँट देखेर हुर्किएकी अनितालाई भिरालो गाउँको बनोट नै अचम्मको लाग्थ्यो । ‘गरे त हुने रहेछ, अहिले यही बारीमा सबै फलाउँछु, बेच्छु,  अहिले त मेरो काम देखेर श्रीमान् पनि छक्क पर्नुभएको छ’ अनिताले सुनाउनुभयो । अब त तिनै भिरालो बारीमा अनितालाई आफ्नो भविष्य फलाउने आत्मविश्वास पलाइसकेको छ ।

अनिताकी छिमेकी सरिता आचार्यलाई पनि साक्षरता कक्षामा पढेको सिकाइले आत्मविश्वास बढायो । ‘मैलेपनि कुखुरा, बाख्रा थपेको छु, तरकारी पनि लगाएको छु’ उहाँले सुनाउनुभयो, ‘यो कक्षामा बसेर आम्दानी गर्ने, खर्च कम गर्ने, घरव्यवहार मिलाउने, विदेश जानेका कागजपत्र घरमा राख्ने जस्ता धेरै कुरा सिकियो ।’ 

ओहो गाउँका महिलाहरुले कति राम्रो काम गर्न थालेछन् ! कुरा सुन्दै गर्दा मलाई अचम्म लाग्यो । अनि थप कुरा खोतल्न थालें । मलेसिया गएका सरिताका श्रीमान दुर्घटनामा पर्नुभएछ । त्योबेलामा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले दिने क्षतिपूर्ति लिने प्रक्रियाबारे पनि उहाँले कक्षामा बसेर नै थाहा पाउनुभएको रहेछ । 

‘विदेश जानेका परिवारले पनि कति कुरा बुझ्न पर्छ है’ उहाँले भन्नुभयो । त्यही कतिमध्ये केही कुरा बुझेर नै होला उहाँले पनि आफ्नो लागि खर्चको जोहो आफैं गर्न थाल्नुभएको छ । 

कक्षामा सहभागी २५ जना महिलाले पालैपालो आफ्ना प्रगती सुनाए । सुनिरहुँ जस्तो लाग्ने, उनीहरुको काम र कामबाट भएको दामको कुरा पनि । कोहीले च्याउ रोपेको सुनाए, कोहीले तरकारी त कोहीले मौसम अनुसार फल्ने सबैकुरा फलाउने र बेच्ने गरेको सुनाए ।

थोपा थोपा मिलेर सागर बन्छ भने झैं २५ जना परदेशीका परिवारले गाउँघरमै आम्दानीको बाटो समाएका छन् । गरिखाने बाटो त रहेछन् नि । त्यसो भए यो गाउँबाट ६० जना भन्दा धेरै युवा किन विदेश गए त ? तर पहिले कमाउन जान्छु भन्नेहरुलाई रोक्ने आँट कसको र ? घरमा बाकस टक्टक्याउँदा नपुगेको पैसा ऋण खोजेर भएपनि उनीहरुले नै हुन् आफ्नालाई परदेश पठाएका । 

त्यो बेलामा उनीहरुसँग विदेश नजाउ भन्नलाई आँट थिएन । आँट हुन त साथमा गाँठ पनि हुन पर्‍यो नि । हो त्यस्तै थियो, ६ महिना अघिसम्म आचार्य गाउँका धेरै महिलाको अवस्था पनि ।  

बारीको ठाउँमा बारी । खेतको ठाउँमा खेत । त्यो बेलामा थिएन त केवल काम गर्ने जाँगर । आफूसँग भएको कुरालाई नै थोरै सही, मेहनत गर्दा बढेको आम्दानी र चलेको घरव्यवहार देखेर महिलाहरु मख्ख थिए । 

अहिले आफ्नो पसिनाको स्वाद चाख्न पाएपछि गाउँका सबै महिलाले लोग्नेको कमाइ बचाउन थालेका छन् । गाउँ भरिभराउ थियो । खेतमा पाक्नै लागेका मकै । बारीभरी तरकारी । कोठमा गाईवस्तु, खोरमा कुखुरा र परेवा । एउटा लोकल भाले बेच्दा पनि एउटा खाँचो टरिहाल्ने । विदेशमा जस्तो तलब हात पार्न महिनाभरी कुर्न पनि नपर्ने । 

दिक्तेल बजारमा लाग्ने हाटसम्म एक डोको साग पुर्‍याउँदा पनि नुनतेलको जोहो हुने । अहिले उनीहरुलाई न श्रीमानको तलबको आउने दिनको प्रतीक्षा छ । न पैसा भएन भन्ने चिन्ता ।  

साक्षरता कक्षामा पैसा कमाउने बाटो र पैसा जोगाउने तरिका सिकेपछि फेरिएका महिलाहरुले गाउँ नै हराभरा बनाएका छन् । गाउँमा आम्दानी गर्ने बाटो केही नदेखेर विदेशिएका उनीहरुका श्रीमान पनि फर्किएर आउँदा आफ्ना श्रीमती र आमाहरुले भरिभराउ बनाएको गाउँघर देख्दा अब पक्कै मुस्कुराउँछन् होला । 

कक्षामा बसेपछि महिलाहरुले आम्दानी र खर्चको हरहिसाब राखेका रहेछन् । आम्दानी र खर्चको हरहिसाब मात्रै राख्दाको फाइदा पनि उनीहरुले सुनाए ।महिनाभरी भएको खर्चको लेखाजोखा गर्दा खर्च कटाउन सकिने रहेछ । यसो गर्दा उनीहरुको खर्च गर्ने बानी कम भएको छ भने सट्टामा बचत बढेको छ ।

आचार्य गाउँमा कुनै बारीको पाटो खाली छैन । आफ्नै खेतबारीमा नग्रा खियाउँदा आचार्य गाउँका महिलाले अहिले गाउँलाई नै फेरिदिएका छन् । विदेशको कमाईमा मात्रै भर पर्ने मन फेर्दा गाउँघर नै फेरेका महिलाहरु अब खाडीमा दुःखसुख गरिरहेका श्रीमान् फर्काउन चाहान्छन् ।

आफ्नै गाउँघरमा, आफ्नै खेतबारीमा उनीहरु आफनो भविष्य रोप्न र फलाउन चाहन्छन् । 

अन्तिम अपडेट: कात्तिक २२, २०७५

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

1 Comments

  • Binod

    July 3, 2018, 7:25 a.m.

    बिगि्रएको कथा पढ्दा सुन्दा कान पाकी रहेको बेला एउटा उधारणिय समाचार पढ्न पाइयो ।

तपाईको प्रतिक्रिया