जसले मनमोहन अधिकारीलगायत सयौँको आँखाको नानी झिके

 बैशाख २८, २०७६ शनिबार १३:३८:४६ | सजना तिमल्सिना
unn.prixa.net

नेपाल नर्सिङ काउन्सिलको दर्ता नम्बर १५ मा भक्तपुरका शंखनारायण त्वायनाको नाम छ । उहाँले २०४८ सालमा प्रविणता प्रमाणपत्र तह पीसीएल नर्सिङ पास गर्नुभयो । जतिबेला थोरै मात्र केटाले नर्सिङ विषय पढ्थे । उहाँको कक्षामा ४० जनामध्ये ४ जनामात्र केटा थिए । शंखनारायणले ३६ जना केटीको बीचमा बसेर नर्सिङ पढ्नुको कारण थियो, ‘आमाको उपचारका लागि अस्पताल पुग्दा नर्सले गरेको हेलचेक्राइँ’ । 

२०४२/४३ सालतिर क्षयरोगबाट ग्रसित आमालाई दैनिक रुपमा सुई लगाउनुपथ्र्यो । बिहान १० बजे उभिन नसक्ने आमालाई डोहोर्‍याउँदै लगिन्थ्यो । तर सुई लगाउने पालो दिउँसो ४ बजेसम्म पनि आउँदैनथ्यो । किन ढिला भयो भनेर सोध्दा, ‘स्वास्थ्यकर्मी र नर्सको हप्काई खानुपथ्र्यो’, त्यो समय सम्झँदै त्वायना भन्नुहुन्छ, ‘मन रुन्थ्यो । अस्पतालमा स्वास्थ्यकर्मी र नर्सको व्यवहार र प्रस्तुत हुने तरिका चित्त नबुझेर स्वास्थ्य क्षेत्रमै लाग्ने निधो गरेँ । अस्पताल पुगेका असहायलाई सहयोग गर्र्ने अनि आमाको पनि उपचार राम्ररी गर्ने सोचेँ ।’

तर जिन्दगीमा आफूले बनाएका योजना र सपना सबै कहाँ पूरा हुन्छ र ? आफ्नै हातले आमाको उपचार अनि स्याहार गर्ने सपना अधुरै रह्यो । स्वास्थ्य क्षेत्रमा लाग्ने शंखनारायणको योजना पूरा नहुँदै आमाको निधन भयो । आमाको निधनले शोकमा रहेका उहाँले आमाको निधनलाई नै शक्तिमा बदल्नुभयो । स्वास्थ्य क्षेत्रमा दक्ष बनेर बिरामी र बिरामीका आफन्तलाई सहयोग गर्ने दृढता झन् बढ्यो । 

फलस्वरुप इन्स्टिच्यूट अफ् मेडिसिन, ललितपुर नर्सिङ क्याम्पसबाट पीसीएल नर्सिङमा सर्वोत्कृष्ट हुँदै २०४८ सालमा गोल्ड मेडल पाउनुभयो । यस्तै २०६२ सालमा भारतको इलाहबादबाट फ्याकल्टी अफ हेल्थ एण्ड मेडिसिन साइन्सअन्तर्गत मास्टर्स अफ पब्लिक हेल्थमा दोस्रो भएर सम्मानित हुनुभयो । 

नर्सिङ उत्तीर्ण गरेपछि पहिलो काम 

नर्सिङ उत्तीर्ण गरेपछि उहाँले सुरुमा ललितपुरको दुर्गम गाउँमा सेवा गर्नुभयो । त्यसपछि शंखनारायणले पाटन अस्पतालमा ४ वर्ष काम गर्नुभयो । अहिले भने उहाँ तिलगंगामा रहेको नेपाल आँखा बैंकको व्यवस्थापकको रुपमा कार्यरत हुनुहुन्छ । आँखा बैंक स्थापना हुनुभन्दा ६ दिनअघिदेखि नै उहाँ त्यहाँ आबद्ध हुनुभयो ।

सुरुमा आँखा बैंकमा गर्ने काम परिवारका सदस्यले मन पराएनन् । त्वायना मुस्कुराउँदै भन्नुहुन्छ, ‘दिनरात मरेको मान्छेसँग काम गर्नुपर्ने, बुबा धेरै रिसाउनुहुन्थ्यो तर अहिले केही भन्नुहुन्न । सायद उहाँले अहिले मेरो कामको मर्म बुझ्नुभएको छ ।’ 

मलाई सुरक्षाकर्मीको घेरामा अधिकारीको शव भएको ठाउँमा लगियो, एक्लै गएँ, आँखाको नानी झिकेर फर्किएँ । सबैजना मलाई हेरिरहेका थिए । स्कटिङमा गएजस्तो लाग्यो । त्यो क्षण कहिल्यै बिर्सन सक्दिनँ ।’ 

शंखनारायण मरेका मानिसको आँखाको नानी झिक्ने काम गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘आखिर मरेपछि त्यो त्यसै माटोमा बिलाउँछ । हामीले कसैलाई दान गरिदिए उनीहरुले संसार देख्न पाउँछन् । हात समाएर ल्याएको बिरामी ठमठमी हिँडेर गएको देख्दा मन आनन्दित हुन्छ ।’

मरेपछि गाडिएर वा जलेर त्यसै खेर जाने आँखाको नानी दान गर्न उहाँले धेरैसँग आग्रह गर्नुभयो । सुरुवातमा नानी झिक्ने आफू एक्लै भए पनि अहिले भने अरु तीनजना थपिएका छन् । केही राहत मिलेको छ । तर पनि परेको बेलामा मरेका मानिसको आँखाको नानी झिक्न उहाँ अझै पनि दौडनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘तीन जना तीनतिर गएको बेला फोन आयो भने जानु त पर्‍यो नि । मैले निकालेको नानीले कसैको जीवन उज्यालो हुन्छ ।’

सुरुवाति दिनमा कतिले गाली गरे, कतिले सजिलै नानी दान गरे । तर उहाँले कहिल्यै हार मान्नुभएन । मरेको मान्छे कतिबेला पोल्न ल्याउँछन् र नानी निकालौँ भनेर घाटको छेउमा बस्न कहिल्यै छाड्नुभएन । यसरी दान गरिएको नानी दृष्टिविहीनमा प्रत्यारोपण गर्दा शंखनारायणलाई सन्तुष्टि मिल्छ । भन्नुहुन्छ, ‘कसैको सहारामा आएको व्यक्ति पछि आफै हिँडेको देख्दा आनन्द लाग्छ । जिन्दगीका कमाउनु नै के छ र ? पैसामात्र कमाएर सन्तुष्टि मिल्दैन जुन कसैको खुशीमा मिल्छ ।’

आँखा बैंक स्थापना भएपछि सुरुका दिनमा शंखनारायणसहितको टोली पशुपति आर्यघाट जान्थ्यो । शव कतिबेला आउँछ भनेर कुर्थ्यो । अनि शव ल्याइसकेपछि त्यहाँको चल्तापुर्जा व्यक्ति छनोट गरेर कुरा गर्थ्यो । उनीहरु केहिबेरपछि खरानी वा माटोमा विलीन हुने आँखाको नानी दान गर्न आग्रह गर्थे । कुरा बुझेपछि कोही दान गर्न सहमत हुन्थे त कोही रिसाएर गाली गर्थे । तर पनि शंखनारायणले हार मान्नुभएन ।

सुरुका दिनमा मोबाइल थिएन । भक्तपुरबाट राति तीन पटकसम्म पनि नानी निकाल्न उहाँ पशुपति आर्यघाट पुग्नुभएको छ । फलस्वरुप अहिले आँखाको नानी दान गर्छु भनेर सहमतिको पत्र भर्नेको संख्या ८० हजार नाघिसकेको छ । त्यसमध्येमा एक शंखनारायण आफै हुनुहुन्छ । भन्नुहुन्छ, ‘केही गर्नु छ भने आफैबाट सुरु गर्नुपर्छ त्यसैले मसहित परिवारका सदस्यको आँखा दान गर्न फारम भरिसकेको छु ।’ 

आँखाको नानी झिक्दाको अनुभव 

२०५१ साल मंसिर महिनाको कुरो हो । वीर अस्पतालमा भर्ना भएकी चिनीमाया तुलाधरको मृत्यु हुने निश्चित भइसकेको थियो । परिवारका सदस्यले यसबारेको जानकारी शंखनारायणलाई दिइसकेका थिए । तर कानुनले जिउँदो मानिसको आँखाको नानी झिक्ने अधिकार कसैलाई पनि दिएको छैन ।

त्यही भएर चिनीमायाको प्राण जाने दिन गन्दै बस्नुको विकल्प थिएन । त्यतिबेला फोन पनि थिएन । शंखनारायण तिलगंगाको सोधपुछ कक्षमा नै ५ रात सुतेपछि चिनीमायाको मृत्यु भयो । त्यसपछि तिलगंगा आँखा अस्पतालमा पनि आँखाको नानी झिक्न थालियो । 

धेरैलाई गुमेको दृष्टि फर्काउन सहयोग गर्नुभएका शंखनारायण धर्म, संस्कृति रीतिरिवाजअनुसार पहिलो संस्कार आँखा दान होस् भन्ने इच्छा राख्नुहुन्छ । 

त्यसपछि पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलगायत सयौंको आँखाको नानी झिकिसक्नुभयो उहाँले । यस्तै सयौंको आँखाको नानी प्रत्यारोपण गर्न मद्दत पनि गर्नुभएको छ । उहाँ मनमोहन अधिकारीको आँखाको नानी झिकेको घटना यसरी सम्झनुहुन्छ ‘२०५६ वैशाख १३ गते पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको निधन भएपछि मलाई त्रिवि शिक्षण अस्पताल लगियो, टन्नै मान्छे थिए । मलाई सुरक्षाकर्मीको घेरामा अधिकारीको शव भएको ठाउँमा लगियो, एक्लै गएँ, आँखाको नानी झिकेर फर्किएँ । सबैजना मलाई हेरिरहेका थिए । स्कटिङमा गएजस्तो लाग्यो । त्यो क्षण कहिल्यै बिर्सन सक्दिनँ ।’ 

यस्तै बौद्धमा नानी दान गर्न इच्छापत्र भरेका एक जना व्यक्तिको मृत्युपछि जाँदा दुई छोराबीच झगडा नै भयो । जेठो छोराले नानी दिन मिल्दैन भने ।  कान्छाले बुवाको इच्छा हो  नानी दान नै गर्ने हो भने ।  दुवैबीच धेरैबेर झगडा पनि भयो । दुई छोराबीचको झगडा बढ्दै गएपछि नानी नझिकी फर्किएको पनि शंखनारायणको सम्झनामा छ । कसैको परिवारमा कलह ल्याउने पाटो आफूहरुले नचाहेको उहाँ भन्नुहुन्छ, ‘हाम्रो उद्देश्य कसैको घरमा अशान्ति बनाउनु होइन । दाजुभाइ नै झगडा गर्न थालेपछि हामी निस्कियौँ ।’

नानी जोगाउने कसरी ? 

उहाँका अनुसार आँखाको नानी मानिसको मृत्यु भएपछि ढिलोमा १२ घण्टासम्म झिक्न सकिन्छ । यो घडीको सिसा झिकेको जसरी नै निकालिन्छ । अनि औषधि भएको बट्टामा राखेर २ देखि ८ डिग्री सेन्टिग्रेटको तापक्रममा रेफ्रिजेरेटरमा राखिन्छ । एउटा नानीलाई ४ देखि १४ दिनसम्म संरक्षण गर्न सकिन्छ । तर एक हप्ता भित्रै नानी प्रत्यारोपण भैसक्छ । शंखनारायण त्वायना थप्नुहुन्छ, ‘नानीमा रहेका ५ वटा तहबारे अध्ययन गरेपछि नानी अनुसारको आँखा भएका अर्को व्यक्तिमा प्रत्यारोपणको लागि सिफारिस गरिन्छ ।’ 

नानी झिक्ने बेलामा मृतकको रगतको नमुना पनि झिकिन्छ । सरुवा रोग भएका व्यक्तिको नानी प्रत्यारोपण गर्दा रगतको माध्यमबाट रोग पनि सर्ने भएकाले त्यस्ता बिरामीको भने नानी प्रत्यारोपण गरिँदैन । सामान्यतया २ वर्षदेखि ७५ वर्षसम्मका मानिसको आँखाको नानी मृत्युपछि निकाल्न मिल्छ । तर एचआईभी, हेपाटाइटिस, ब्लड क्यान्सर, लागुपदार्थ सेवनकर्तालगायतका व्यक्तिको भने नानी प्रत्यारोपण हुँदैन । 

काठमाण्डौको तिलगंगा आँखा अस्पतालमा नानी प्रत्यारोपण निःशुल्क गरिन्छ । तर विराटनगर आँखा अस्पताल, सिरहाको लहान आँखा अस्पताल, मेची आँखा अस्पताल, बिर्तामोड आँखा अस्पताल, दृष्टि आँखा केन्द्र बिर्तामोड, लुम्बिनी आँखा अस्पताल र गेटा आँखा अस्पताल धनगढीमा आँखाको नानी प्रत्यारोपण हुने नेपाल आँखा बैंकले जनाएको छ । नानी प्रत्यारोपण गर्न ४० देखि ४५ हजार रुपैयाँसम्म पर्छ । आँखाको नानीका लागि नेपाल आँखा बैंकमा सम्पर्क गर्न सकिनेछ । 

समस्या र चुनौती उस्तै 

आँखाको नानी दान गर्नको लागि नेपालमै ८० हजारभन्दा धेरैले इच्छापत्र भरेका छन् । तर दान गर्छु भनेर इच्छापत्र भरे पनि इच्छा राख्ने जतिको नानी झिक्न भने पाइएको छैन । मृत्यु अवश्य छ तर कतिबेला कहाँ हुन्छ थाहा छैन । उसले नानी दान गर्छु भनेको कुरा उसको परिवारले थाहा नपाएर वा पीडाको बेलामा परिवारले बिर्सिएर पनि मृत्युबारे जानकारी नहुँदा सबैको नानी झिक्न पाइएको छैन । 

तर पनि पहिलेको भन्दा अहिले आत्मनिर्भरता भने बढ्दै गएको छ । नेपाल आँखा बैंकका व्यवस्थापन शंखनारायणका अनुसार सन् १९९४ मा ३ वटा नानी विदेशबाट ल्याएर सुरु गरिएकोमा १९९५ मा २ सय ४३, १९९६ मा १ सय ६, १९९७ मा ९५, १९९८ मा ४ वटा नानी विदेशबाट ल्याइयो । १९९९ देखि २००७ सम्म नानी ल्याइएन । तर, सन् २००८ मा विदेशबाट कोसेलीस्वरुप ६ वटा नानी आयो । त्यसपछि २०१२ सम्म ल्याइएन ।

तर २०१३ पछि फेरि ल्याइएकोमा अहिले भने नेपाल नै आत्मनिर्भर बन्दै गएको छ । नानी दान गर्नेको संख्या बढ्दै गएको छ । यसले पनि शंखनारायण त्वायनाको काम गर्ने उत्साह कम हुनुको सट्टा बढ्दै गएको छ । धेरैलाई गुमेको दृष्टि फर्काउन सहयोग गर्नुभएका शंखनारायण धर्म, संस्कृति रीतिरिवाजअनुसार पहिलो संस्कार आँखा दान होस् भन्ने इच्छा राख्नुहुन्छ । 

 

अन्तिम अपडेट: साउन ३२, २०७६

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया