टमाटर, पत्रकार र सरकार : कोभन्दा को कम !

 जेठ ४, २०७६ शनिबार ७:४८:५१ | मिलन तिमिल्सिना
unn.prixa.net

बजारमा टमाटर, मिडियामा पत्रकार र सिंहदरबारमा सरकार । एउटा टर, दुईटा कार । टर यसै पनि मास्टर र डाक्टरसँग मेल खाने, छुन सक्ने कुरै भएन । अनि कार त उसै पनि अरुभन्दा अगाडि, सितिमिति भेट्न सक्ने अवस्थै रहेन । त्यसैले छुन र भेट्न नसक्ने गरी टर र कारको भाउ बढिरहन्छ । अहिले अवस्था यस्तै छ ।

टमाटरलाई एकटकले हेरिरहँदा पनि खल्ती रित्तिएला भन्ने डर । सरकारलाई खै भएन नि भन्दा समातेर थुन्देला भन्ने डर । पत्रकारले बोलाएर अन्तर्वार्ता दिन जाँदा बस्न नपाउँदै उठेर जानुस् भनेर घोक्रेठ्याक लगाउला भन्ने डर । त्यसमाथि अरुकोभन्दा पत्रकारको भाउ बढेर लाख मात्रै होइन, करोड पुगेको छ । नपत्याए केन्द्र सरकार र प्रदेश २ सरकारले ल्याएको विधेयक हेर्नुहोस् ।

गणेशाय नमः भनेजस्तै पहिले खानेकुराकै कुरा गरौँ । टमाटर अर्थात गोलभेडा । भान्सामा टमाटर नभए पनि भात, तरकारी रिसाउँदैनन् । पहिले टमाटरको अचार पनि सँगै राख, अनि मात्र हामीलाई मिसाएर पेट भर भनेर नारा जुलुस गर्दैनन् । दाल र भात मात्रै खाए पनि पेटले अनसन गर्दैन । ठूलो र सानो आन्द्राले जरिबाना तिराउँदैनन् । उल्टै पेट भरिदिएबापत भोलिपल्ट बिहान चर्पीमा बोलाएर ‘मालपोत’ तिरिदिन्छन् । 

सुन र पैसाभन्दा पनि गह्रौं टमाटर किन खानु पर्यो त ? टमाटर नखाँदा मरिन्छ ? सानो भइन्छ ? बरु टमाटर सस्तो भयो भने किसान चाहिँ मर्छन् ।

गोलभेडाको अचार भएन भनेर पेटभित्रका कसैले गुनासो नगरे पनि थुतुनोलाई चाहिँ चित्त बुझ्दैन । थुतुनोलाई चट्ट अमिलो, पिरो अचार चाहिन्छ । अनि भान्सेलाई टमाटर खोज्ने भाउँतो आइलाग्छ । भान्सेको नचाहिँदो भाउँतो बिसाउन बजार पुग्नेहरु गोलभेडाको भाउ सुनेर तिरीमिरी झ्याइँ हुन्छन् । अनि फेसबुकमा कुर्लन्छन्, ‘लौ टमाटर किन्नुभन्दा सुन किन्न सस्तो, पैसाको बिटो बोकेर गए पनि एक दाना टमाटर आउँदैन ।’

सुन र पैसाभन्दा पनि गह्रौं टमाटर किन खानु पर्यो त ? टमाटर नखाँदा मरिन्छ ? सानो भइन्छ ? बरु टमाटर सस्तो भयो भने किसान चाहिँ मर्छन् । अहिले भारतबाट टमाटर नआएकाले भाउ महंगो भयो । ठिकै त भयो, भारतमा जाने पैसा नेपाली किसानले पाउने भए । कि आफ्नै किसान दाजुभाइको हातमा पैसा गएको चित्त बुझेन ? त्यसो भए आफैले फलाए भयो नि त टमाटर । 

टमाटार फलाउन गाह्रो पनि छैन । टमाटरको बीउ र बिरुवा खोजिरहन पनि पर्दैन । अघिल्लो दिन बेलुका टमाटरको अचार खाएर भोलिपल्ट बिहान बारीको डिल या कुनामा टुक्रुक्क बस्यो भने महिना दिनपछि टमाटर उम्रेर फल्न थाल्छ । शहरबजारमा बस्नेले खै हाम्रो त बारी छैन, कहाँ बस्ने भन्लान् । बारी नभएर के भो त ? गमला छ नि । आज गमला बोकेर छतमा टुक्रुक्क बस्ने, केही महिनापछि गमलामा टमाटर फलाउने । यति भएपछि टमाटर महंगो भयो भन्ने ट्यारट्यार टुरटुर पनि बन्द हुन्छ । गोलभेडे गफको अन्त्य हुन्छ । 

टरपछि अब कारको कुरा गरौँ । पछिल्तिर कार झुण्डिएका सर र पत्र अर्थात सरकार र पत्रकार । दुवैथरी उस्तै, को भन्दा को कम ? तँ ठूलो कि म ? शास्त्रमा नलेखे पनि दुवैथरी राज्यका अंग । दुवै अंग उत्तिकै कामलाग्दा भए पनि बेलाबेला एउटा अंगले अर्कोलाई खोट देखाउँछ, अर्कोले एउटालाई धारे हात लगाउँछ । अर्कोलाई खोट देखाउँदा देखाउँदै आफ्नै अंगमा घाउ लागेको उसले पत्तो पाउँदैन । धारे हात लगाउँदा लगाउँदै हात आफैंतिर तेर्सिएको चाल पाउँदैन । 

टमाटरलाई एकटकले हेरिरहँदा पनि खल्ती रित्तिएला भन्ने डर । सरकारलाई खै भएन नि भन्दा समातेर थुन्देला भन्ने डर । पत्रकारले बोलाएर अन्तर्वार्ता दिन जाँदा बस्न नपाउँदै उठेर जानुस् भनेर घोक्रेठ्याक लगाउला भन्ने डर ।

सरकारको कार चढ्न पाउने यसै पनि ठूलो । पहिले चढेर अहिले कुर्सीको तल थ्याच्च बस्न बाध्य पनि उसै ठूलो । चुप लागेर, कुनामा बसेर, निन्याउरो अनुहार लगाएर भाउ बढ्दैन । कसैले गन्दैन । ठूलो हुन चर्को स्वरमा बोल्नुपर्छ । पाखुरी सुर्कनुपर्छ । परि आए जाइलाग्नुपर्छ । अनि दुनियाँले चिन्छन् । भाइरल भइन्छ । नपत्याए टेलिभिजनको अन्तर्वार्तामा पाखुरा सुर्कने र मुक्का हानौंला झैँ गर्ने नेताहरुलाई हेर्नुहोस् । पहिले को हो को, अहिले सबैले चिने– ए त्यो पो !

नेतालाई मात्र होइन, पत्रकारलाई पनि भाइरल हुनु छ । यतिका भिडमा आचारसंहिता मात्रै भनेर, त्यसमै झुण्डिएर मान्छेले चिन्दैनन् । केही न केही उल्का गर्नुपर्छ । नेतालाई बोलाएर भिडाउनुपर्छ । प्रहरीले केरकार गरेकोभन्दा बढी गरेर झाँको झार्नुपर्छ । सकेसम्म नेता नेताबीच लडाउनुपर्छ । नसके आफैं लड्न तम्सिनुपर्छ । अनि पो स्वाद हुन्छ । दुनियाँले चिन्छन्, भाइरल भइन्छ ।

त्यसमाथि अहिले पत्रकारको भाउ बढेको अवस्था छ । तलमाथि केही हुने गरी समाचार लेख्यो, भन्यो भने सरकारले लाख मात्र होइन, करोड तिराउँछु भनेको छ । लाख, करोड तिर्ने हैसियतमा पुगिसकेको मान्छेले दुई, चार पैसाको औकातमा बस्न पनि सुहाउँदैन । लाख करोडकै मूल्य पर्नेगरी कराउनुपर्छ । चर्कनुपर्छ । उफ्रनुपर्छ । अनि सरकारले भन्न पाउँछ – देख्यौ यही भएर नियम कडा चाहिएको ।

सरकारलाई पनि केही न केही गर्नुछ । रेल, मेलम्ची, पानीजहाजका कुरा पहिल्यै गरिसकेको । वृद्धवृद्धाको भत्ता बढ्छ भन्ने कुरा पनि अस्ति भर्खर भनेको । अब भन्न बाँकी कुरा सकियो । केही न केही त भन्नु पर्यो । गरेजस्तो गर्नुपर्यो । सरकारले केही गर्दैछ भनेर देखाउनुपर्यो । अलि हल्ला हुने कुरा नगर्दासम्म सरकार भएजस्तै हुँदैन । 

पहिले विरोध गर्नेहरुलाई त ठेगान लगाउनुपर्यो नि । त्यसैले सरकारले पत्रकारको भाउ बढाएको ।

हजार रुपैयाँ कमाउन मुश्किल पर्ने पत्रकारलाई करोडसम्मको सजायको कुरा गर्दा हलचल हुन्छ । ए सरकारले केही गर्दैछ भन्ने थाहा हुन्छ ।

चीन र अरु देशमा पनि ठूलै जरिबाना हुँदो रहेछ । देशलाई अमेरिकाजस्तो, स्विजरल्याण्डजस्तो, अरुजस्तो बनाउन खोज्ने सरकारले त्यहाँ भएजस्तो कानुन बनाउन किन नपाउने ? बाटोघाटो, विकास निर्माण त बिस्तारै हुँदै गर्छ ।

तर पहिले सरकारलाई विरोध गर्नेहरुलाई त ठेगान लगाउनुपर्यो नि । त्यसैले सरकारले पत्रकारको भाउ बढाएको । आफ्नै कारणले आफ्नो भाउ घटिरहे पनि आफ्नो समेत भाउ बढिरहेको छ भनेर मख्ख परेको ।

अनि भाउ बढ्यो भनेर मख्ख परेकालाई चलाएर तपाईँ र म झन् बढी तिनै कार र टरलाई हौस्याउँदैछौँ । त्यसो त तपाईँ र म पनि कहाँ चुप लागेर बस्न सक्छौँ र ? यत्रो भिडमा आफूले आफैलाई हराउन दिन त भएन नि । त्यसैले आउनुहोस्, फेरि भाउ बढेको टमाटर, पत्रकार र सरकारलाई केही न केही भनौँ । 

अन्तिम अपडेट: जेठ २२, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

2 Comments

  • Khagendra dangal

    May 19, 2019, 7:16 a.m.

    हाम्रो देशको अवस्था यस्तै छ , यो काम नलाग्ने सरकारको कारण /

  •  0 Reply
  • Nabinjang thapa

    May 18, 2019, 8:51 a.m.

    I don't like Nepali leaders, Nepal should make strict law to criminals, corrupted leaders & unsuited persons who work against law& change education system.

  •  0 Reply

तपाईको प्रतिक्रिया