प्रतिनिधि सभा बैठक स्थगित भएपछि सत्ता पक्ष र प्रतिपक्षबीच आराेप प्रत्याराेप

 असार ३०, २०७६ सोमबार १९:९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संघीय संसद प्रतिनिधि सभाको बैठक स्थगितको विषयलाई लिएर सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आरोप प्रत्यारोप चलेको छ ।

सत्तारुढ दल नेकपाले प्रतिनिधिमूलक संस्था संसदलाई बद्नाम गर्ने र अलोकप्रिय बनाउने गरी सिंगो व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गर्ने काम प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको दाबी गरेको छ ।

कांग्रेसले भने देश नै विपत्तिमा परेका बेला बाढी  र डुबानबारे छलफल गरौँ भन्दै आफूहरुले राखेको बैठक स्थगनको प्रस्तावलाई सत्तारुढ दलले सदनमा प्रवेश गर्न नदिएको आरोप लगाएको छ ।

सोमबार अपरान्ह १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएपछि संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै नेकपाका सांसद योगेश भट्टराईले संसदको अलोकप्रियता सिर्जना गरी व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गर्ने गल्ती कांग्रेसले गरेको दाबी गर्नुभयो । उहाँले बाढी र डुबानको  विपदमा देश परिरहेका बेला सरकारलाई आवश्यक निर्देशन र ध्यानाकर्षण गराउनुको सट्टा कांग्रेसले संसद बन्द गरेर नागरिकको ध्यान संसदभन्दा अन्यत्र मोड्न खोजेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संसदमा छलफल गरेर सरकारलाई उद्धार, राहत, डुबान खोल्न भारतसँग पहलकदमी चाल्नका लागि  ध्यानाकर्षण गराउनुपर्ने बेला संसद बन्द गरेर जनताको ध्यान संसदभन्दा अन्यत्र मोड्ने काम भएको छ । प्रतिनिधिमूलक संस्थालाई बद्नाम गर्ने, त्यसलाई चल्न नदिने, संसदको अलोकप्रियता सिर्जना गर्ने र व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गर्ने जस्ता गल्ती भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत त्यही व्यवहारलाई आज पनि निरन्तरता दिएको छ ।’

प्रतिपक्षी दल नेपाली कांग्रेसले भने संसदीय छानबिन समिति गठनको माग गर्दे जारी राखिएको संसद अवरोध खोलेर बाढी र डुबानका विषयमा छलफल गरौँ भनी राखेको स्थगनको प्रस्तावलाई सत्तारुढ दलले संसदमा प्रवेश गर्न नदिएको आरोप लगाएको छ । प्रमुख सचेतक बालकृष्ण खाँडले बाढी पहिरोको विषयमा सदनमा छलफल गर्न सभामुख सैद्धान्तिक रुपमा तयार भए पनि सत्तापक्ष तयार नभएकाले बैठक अवरुद्ध भएको दाबी गर्नुभयो । उहाँले सत्तापक्ष देशको विषम परिस्थितिप्रति गम्भीर र उत्तरदायी नभएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सत्तापक्ष गम्भीर छैन । जनताप्रति उत्तरदायी छैन । जनताका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्न चाहँदैन । र देशका कुनै पनि समस्यालाई सम्बोधन गर्ने क्रममा सबै राजनीतिक शक्तिहरु र मुलुकका शक्तिहरु एकढिक्का भएर अगाडि बढोस् भन्ने चाहँदैनन । सत्तापक्षी एक्लै हिँड्न चाहन्छ ।’

नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले भने प्रतिपक्षी दलको स्थगन प्रस्ताव र बैठक स्थगित हुनुको कारणबारे आफूलाई जानकारी नभएको बताउनुभयो । राजपाका सांसद लक्ष्मणलाल कर्णले स्थगन प्रस्ताव दर्ता गरेर बैठकका लागि आउँदै गर्दा बैठक स्थगित भएको बताउनुभयो ।

कांग्रेसको प्रस्तावमा सत्तारुढ दलको असहमति भएपछि सचिवालयले बाढी र डुबानको कारण देखाउँदै सोमबारको बैठक सूचना टाँसेर साउन ८ गते सम्मका लागि स्थगित भएको जनाएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया