बिल गेट्सलाई उछिन्दै बर्नार्ड अर्नल्ट पुगे अर्बपति सूचीको दोस्रो नम्बरमा

 साउन १, २०७६ बुधबार १७:२३:१२ | एजेन्सी
unn.prixa.net

ब्लूमबर्गको अर्बपतिको सूचीमा गएको सात वर्षको इतिहासमा बिल गेट्सले दुई नम्बरबाट तल झर्नुपरेको थिएन । तर माइक्रोसफ्ट कर्पका सह-संस्थापक बिल गेट्स सात वर्षको अवधिमा पहिलो पटक तेस्रो नम्बरमा झरेका छन् । 

फेशन कम्पनी लुई विटाेन (एलभी) का मालिक बर्नार्ड अर्नल्ट कुल सम्पत्ति १०७ दशमलव ६ बिलियन डलरका साथ अर्बपति सूचीको दोस्रो नम्बरमा परेका हुन् । उनको सम्पत्ति बिल गेट्सकाे भन्दा २०० मिलियन डलर बढी छ । बिल गेट्सको कुल सम्पत्ति १०७ बिलियन डलर छ ।

अर्नल्टले सन् २०१९ मा ३९ बिलियन डलर जोड्दै दोस्रो नम्बरमा परेका हुन् । उनी ब्लूमबर्गको सूचीमा पाँच सय जनामध्ये सर्वाधिक व्यक्तिगत कमाइ गर्नेमा  परेका छन् । 

अर्बपति सूचीको पहिलो नम्बरमा भने अमेजनका संस्थापक तथा प्रमुख जेफ बेजोस छन् । उनको कुल सम्पत्ति १२५ बिलियन डलर छ । 

ब्लूमबर्गका अनुसार बिल गेट्सले कुनै पनि संस्थालाई रकम दान नगर्ने हो भने उनी यो सूचीको पहिलो नम्बरमा हुन्छन् । उनले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनबाट ३५ बिलियन डलर दान गरिसकेका छन् । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया