६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न कांग्रेसकाे माग

 साउन १, २०७६ बुधबार १७:४०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले ६० वर्ष उमेर पुगेका कर्मचारी मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उहाँले ५८ वर्षमा पेन्सन पाउने सरकारको प्रस्ताव आफ्नो पार्टीले स्वीकार गर्न नसक्ने पनि स्पष्ट पार्नुभयो । समितिका सदस्यसमेत रहनु भएका नेता बडुले राष्ट्रको व्ययभारलाई कम गर्न पनि निजामती कर्मचारीहरुको पेन्सन पाउने उमेर हद ६० वर्ष तोक्नुपर्ने तर्क पनि गर्नुभयो ।

बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले निजामती कर्मचारीको पेन्सन वृद्धि गर्न नहुनेतर्फ पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले काम नबढाउने तर सेवा र सुविधामात्रै कर्मचारीहरुलाई थप गरेर राष्ट्रको व्ययभार बढाउने पक्षमा आफू नरहेको पनि बताउनु भयो ।

विधेयकमा कर्मचारीको पेन्सन उसले पाएको तलवको ७५ प्रतिशत उपलब्ध गराउने प्रस्ताव गरिएको छ । त्यसप्रति नेता शर्माको आपत्ति छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया