कांग्रेस केन्द्रीय समिति बैठक: महाधिवेशनको मिति निर्धारण गर्न नेतृत्वलाई दबाब

 साउन १२, २०७६ आइतबार १७:२५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको १४ औँ महाधिवेशनको मिति निर्धारण गरि अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन् । 

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये पार्टीको महाधिवेशनको विषय गम्भीर र महत्वपुर्ण एजेण्डाको रुपमा छलफल हुँदै आएको छ । केही सदस्यहरुले तत्कालका लागि विधानको संक्रमणकालीन व्यवस्था अनुसारको संरचना बनाउने र केही समयपछि महाधिवेशन गर्ने विषयमा धारणा राखेका छन् भने केहीले महाधिवेशन समयमै गर्नुपर्ने तर्क गरेका छन् ।

साथै केही सदस्यले विधानलाई निलम्बित गरेर काम गर्न नसकिने उल्लेख गर्दे विधान विपरीत कुनै पनि विषयमा सहमति र सम्झौता हुन नसक्ने भएकाले महाधिवेशनको समय निर्धारण गरी क्यालेन्डर बनाएर अघि बढ्नुपर्ने धारणा राखेका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको विधानको धारा ७१ को उपधारा ४ बमोजिम अन्तरिम संरचना बनाएर १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफल केन्द्रित भए पनि निष्कर्षमा भने पुगिनसकिएको बताउनुभयो ।

केन्द्रीय सदस्य अर्जुन नरसिंं केसीले कार्यतालिका अनुसार नै महाधिवेशनको मिति तय गरिनुपर्ने बताउनुभयो ।  उहाँले संक्रमणकालीन व्यवस्थाको नाममा भर्खरै बनाएको विधानलाई निलम्बित गरेर विधान विपरीत कुनै पनि सहमति सम्झौता गर्न नसकिने बताउनुभयो ।

असार २२ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक बीचमा रोकिँदै चल्दै आएको छ । बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये नियमावलीको एजेण्डामा केन्द्रीय समितिले सर्वसम्मति परिमार्जन गरेर सहमतिपूर्वक टुंग्याउने गरि नियमावली मस्यौदा समितिलाई नै फिर्ता पठाइसकेको छ ।

प्रवक्ता शर्माले महाधिवेशनको विषय टुंगो लागेपछि बाकी एजेण्डामा संयुक्त छलफल गरिने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया